
भोजपुर । भोजपुरमा ७२ वर्षका वृद्धाबाट जबरजस्ती करणीमा परेकी बालिकाको पेटमा पाँच महिनाको गर्भ रहेको खुलेको छ ।
जिल्लाको भोजपुर नगरपालिका-३ बस्ने मान बहादुर श्रेष्ठले स्थानीय एक १४ वर्षीया बालिकालाई गत वैशाख १२ गते जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा जाहेरी परेको हो ।
जाहेरीपश्चात प्रहरीले श्रेष्ठलाई अनुसन्धानको लागि शनिबार दिउँसो नियन्त्रणमा लिएको छ । बालिकाको स्वास्थ्य परीक्षणमा उनको पेटमा पाँच महिनाको गर्भ रहेको समेत देखिएको प्रहरी स्रोत बताउँछ ।
प्रहरीको न्यायिक हिरासतमा रहेका श्रेष्ठले पनि आफूले बालिकामाथि करणी गरेको स्वीकार गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृत बताउँछन् । वृद्धाको भनाई उद्धृत गर्दै ती अधिकृतले भने, ‘जिस्कने क्रममा भएको हो ।’
श्रेष्ठमाथि थप अनुसन्धान भइरहेको बताइएको छ ।
उमेरले शुक्रकीटमा असर गर्दैन
स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. जागेश्वर गौतम पुरुषको हकमा वृद्धावस्था सम्म नै शुक्रकीटको उत्पादन हुने बताउँछन् । केटिएम दैनिकसँगको कुराकानीमा डा. गौतमले भने, ‘उमेरले खासै फरक पार्दैन, पुरुष स्वास्थ्य छ भने शुक्रकीटले सन्तान उत्पादन गर्ने क्षमता राख्दछ ।’