
काठमाडौँ । मानसिक रूपमा अशक्त रहेकी एक बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा ओखलढुंगा प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्ने स्थानीय व्यापारी हुन् । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जारी गरेको सूचनाअनुसार सुनकोसी गाउँपालिका-८ घर भई सिद्धिचरण नगरपालिका- ११ मा सुनचाँदी तथा भाँडा पसल सञ्चालन गरी बस्ने अन्दाजी ३० वर्षीय चन्द्र बहादुर बि.क. पक्राउ परेका हुन् ।
मानसिक रुपमा अस्वस्थ रहेकी एक १७ बर्सिया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा उनलाई आज पक्राउ गरिएको ओखलढुंगा प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बालिस्टर सिंहले बताए ।
बि.क.ले ती बालिकालाई करिव दश दिन अगाडि करणी गरेको भन्दै बालिकाका अभिभावकले प्रहरीमा लिखित जाहेरी दिएका थिए ।
अभिभावकको जाहेरीको आधारमा अनुसन्धानको लागि बि.क. लाई आज नियन्त्रणमा लिइएको हो । पक्राउ परेका व्यक्तिउपर अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । अनुसन्धानको क्रममा ती बालिकामाथि विगत तीन/चार महिनादेखि करणी हुँदै आएको समेत खुलेको छ।
नेपालको कानुनले १८ वर्ष भन्दा कम उमेरका किशोरी/बालिकाहरूलाई उनीहरूकै मन्जुरीमा शारीरिक सम्बन्ध राखेता पनि उक्त सम्बन्धलाई जबरजस्ती करणी मान्दै पीडितको उमेर र परिस्थिति हेरेर विभिन्न सजाय र जरिवाना तोकेको छ ।
मुलुकी अपराध संहिता २०७४ को करणी सम्बन्धी कसुर का अनुसार सोह्र वर्ष देखि १८ वर्ष उमेरका किशोरीमाथि जबरजस्ती करणी गर्नेलाई १० देखि १२ वर्षसम्म कैद र पाँच लाख रुपैयाँ जरिवाना तोकेको छ ।
साथै मानसिक रूपमा अवस्था महिला/बालिकामाथि करणी गर्नेको हकमा थप पाँच वर्षसम्म कैद हुने सोही ऐनको दफा २१९ को उपदफा (७) मा उल्लेख छ ।
नोट: यसमा प्रयोग गरिएको स्केच ‘बलात्कारविरुद्धको कानुनसम्वन्धी जानकारी पुस्तिका‘ बाट लिइएको हो ।