काठमाडौं । झापामा ९ वर्षीया बालिकामाथि जबरजस्ती करणी भएको छ ।
बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गौरादह नगरपालिका-५ बस्ने ४१ वर्षीय उद्धव तामाङलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
तामाङले ललाई फकाई आफ्नै घरमा लगि ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी महारानीझोडाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक खगेन्द्र प्रसाद रिजालले बताए ।
नेपालको कानुनले १८ वर्षभन्दा कम उमेरका बालिकाहरूसँग शारीरिक सम्वन्ध राख्नुलाई बलात्कार ठहर गर्दै पीडित बालिकाको उमेर र परिस्थिती हेरेर सजाय निर्धारण गरेको छ ।
मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को उपदफा (३) (क) अनुसार दश वर्षभन्दा कम उमेरकी बालिकामाथि जबरजस्ती करणी गर्नेलाई जन्मकैदको सजायँ हुन्छ ।