काठमाडौं । सामाजिक सञ्जालमा मात्र होइन, हरेक ठाउँमा अहिले ‘बलात्कार’ भन्ने शब्दलाई लिएर समाज विभाजित छ । पछिल्लो समय चर्चामा रहेका नेपाली क्रिकेटर सन्दीप लामिछानेको प्रकरणले त अझ सोसल मिडियामा ‘हानाथाप’ नै चलिरहेको पाइन्छ।
तर, पीडित भनिएकी किशोरीको मनमा के बितिरहेको छ भन्ने कसैले आँकलन गर्न सकेका छैनन्। आफूमाथि भएको पीडा न्यायालयमा ओकल्दा उनलाई अपराधी नै ठानिएको अनुभूति गरेकी छन्, उनले। अझ, सन्दीपलाई चोख्याउन न्यायालय नै लागिरहेको आशंका भइरहँदा ती किशोरीको मनमा झन् विक्षिप्तता छाएको स्पष्ट देखिन्छ।
अन्याय परेका बखत न्यायका लागि धाइने अदालतका हरेक आदेश आफ्ना लागि करेन्टबाट दिइएको टर्चरजस्तो उनी बताउँछिन्। ‘न्यायको आभास मेरा लागि पासोसरह भइरहेको छ, ठुलो ह्याम्मरले निरीह पिनलाई हिर्काएझैं, करेन्ट लगाएर दिइने टर्चरजस्तो,’ केटिएम दैनिकसँगको कुराकानीमा उनले भनिन्, ‘मेरो यो लडाइँ आफ्नो जितको लागि नभएर मैले भोगेको पीडा आगामी दिनमा अरूले भोग्न नपरोस् भनेर हो।’
हुन पनि आफूविरुद्ध आउने हरेक आदेश वा बयानका बारे परिवारलाई बुझाउन हरसम्भव कोसिस गर्ने ती किशोरीले आफ्नो मनलाई भने बुझाउन सकिरहेकी छैनन्। हात र आँखाबीच गहिरो सम्बन्ध बनाइसकेकी छिन्, उनले भने, ‘एकपछि अर्का आदेश चट्याङसरह लाग्छन्, अझ रक्षाबन्धनमा राखी बाँधेर दिदीको साइनो गाँसेको मान्छेले दिएको हचुवा बयान जब मिडियामा आयो, त्यसबाट त मुटु छियाछिया भएको छ,’ उनी भन्छिन्।
दिदी सम्बोधन गर्ने युवतीको उक्साहटमा सन्दीपलाई भेट्न पुगेको पीडित किशोरीको भनाइ छ। उनका अनुसार सन्दीपले आफूलाई भेट्न बोलाएको दिन उक्त खबर रुममेट दिदीलाई सुनाएकी थिइन्। दिदीले आफूलाई उनकै कपडासमेत लगाइदिएर पठाएको सुनाउँदै उनी भन्छिन्, ‘भेट्न जानुपूर्व रुममेट भनिने दिदीलाई जाउँ कि नजाऊँ भनेर सोध्दा उहाँले आफू पनि सन्दीपको डाइहार्ड फ्यान रहेको र आफूलाई पनि भेट्ने इच्छा रहेको बताउनुभएको थियो।’
ती किशोरी निस्किने बेलामा आफ्नो नाम लिएर सन्दीपले ‘हाई’ गरेको एउटा भिडिओ सम्भव भएसम्म बनाएर आफूलाई पठाउन आग्रहसमेत गरेकी थिइन्। तर अहिले रुममेट दिदीले सन्दीपलाई चोख्याउन उनकै पक्षमा बयान दिएको ती किशोरीको दाबी छ।
‘अहिले उहाँले सन्दीपलाई भेट्न जान लागेको कुरा ब्वाइफ्रेन्ड र होस्टल सञ्चालकलाई समेत नभन्नू भनेको भन्दै बयान दिनुभएछ,’ उनी भन्छिन्, ‘यी सब बनावटी कुरामात्र हुन्। एकाएक यसरी कुरा आउनुले झनै शंका उब्जाएको छ। बन्द इजलासबाट हेरिने मुद्दामा त पीडितको बकपत्र भइरहँदा सम्बन्धित पक्षबाहेक इजलासभित्र कोही पनि आउन नपाइने होइन र? तर बकपत्र चलिरहँदा रुममेट इजलासभित्रै आएर मेरै अगाडि सन्दीपसँग कानेखुसी गरिरहनुभएको थियो, यो सबै पीडितको मनोबल गिराउने रणनीति हो।’
उसै त फागुन ५ गते स्कटल्यान्डविरुद्धको क्रिकेट खेलमा सन्दीपले ती युवतीलाई भिआइपी सिटमा राखेर खेल देखाएका थिए। खेलपछि सन्दीपकी आमासँगै मैदान प्रवेश गरेकी ती युवतीलाई सन्दीपले अंकमाल गरेका थिए। सन्दीप र ती युवतीले अँगालो हाल्दै गरेको सो फोटो सोसल मिडियामा सार्वजनिक भएको थियो।
सो फोटो आफ्नो सामाजिक सञ्जालमा राख्दै ती युवतीले लेखेकी छन्, ‘तिमीले गर्ने स-साना कुराहरूले मलाई स्मरण गराउँछ कि म किन हरपल तिमीमा आकर्षित हुन्छु।’
उक्त खेलमा सन्दीपले तीन विकेट लिँदा नेपालले स्कटल्यान्डमाथि तीनै विकेटको जित हात पारेको थियो।