
काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान क्रिकेटर सन्दीप लामिछानेविरूद्धको बलात्कार मुद्दा न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा परेको छ।
काठमाडौं जिल्ला अदालतमा उनको मुद्दा पेसी सूचीको पाँचौं नम्बरमा परेको छ।
लामिछानेविरुद्ध एक नाबालिगलाई गौशालाको एक होटलमा लगेर जबरजस्ती करणी गरेको मुद्दा परेको हो । लामिछानेविरूद्ध २०७९ कात्तिक १४ गते अदालतमा मुद्दा परेको थियो।
मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै काठमाडौं जिल्ला अदालतले गत कात्तिक १८ गते सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो।
जिल्ला अदालतको आदेशविरूद्ध सन्दीपले उच्चमा पुनरावेदन दिएका थिए। पुस २८ गते उच्चले उनलाई २० लाख धरौटीमा सशर्त रिहा गरेको थियो।
क्रिकेट खेल्न विदेश जान पाउनुपर्ने मागसहित सन्दीपले फागुन १२ गते शुक्रबार सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए। महान्यायाधिवक्ताको कार्यालयले सन्दीपलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग राखेको थियो।
सन्दीप र महान्यायाधिवक्ताको कार्यालयले दिएको निवेदनबारे एकसाथ सुनुवाइ गर्दै सर्वोच्चले फागुन १५ गते उच्च अदालत पाटनको आदेश सदर गर्दै सन्दीपलाई क्रिकेट खेल्न विदेश जाने अनुमति दिएको थियो।
अहिले नेपाली टोली पहिलो पटक एसिया कप क्रिकेट खेल्नको लागि पाकिस्तान पुगेको छ ।
लामिछानेको मुद्दा जारी रहेकाले उनी भने नेपालमै रहेका छन् ।