मध्यरातको १२ बजे बाहिरबाट आवाज आउँछ, ‘ए ढोका खोल्, मैले भनेको मानिनस् भने तेरो दुई वर्षको बच्चाको हत्या गरिदिन्छु । खुरुक्क ढोका खोल्छेस् कि खोल्दिनस् ? ‘
बच्चा च्यापेर सुतेकी उनी को हो यति राति कराउने भन्दै ढोका खोल्छिन्, मामा पर्ने व्यक्तिलाई ढोकासामु देख्छिन् । त्यो उनको सासू-ससुराले चिनेको व्यक्ति थियो । मैनाली थरका ती पुरुषले ‘तेरो सासू-ससुरा सुतिसकेछन् आइज अब मसँग’ भन्दै थर्काउन थाल्छ ।
मैले भनेको मानिनस् भने तेरो बच्चाको हत्या गरिदिन्छु भन्दै हात जबरजस्ती तानेर मुख बन्द गरेर उनलाई जबरजस्ती करणी गर्छ। उनी कराउँछिन्, रुन्छिन् तर कोहीले सुन्दैनन् । रातको समय थियो सबै मस्त निन्द्रा थिए । उनले सबैसँग सहयोग मागिन् तर ती महिलालाई मध्यरातमा सहयोग गर्ने कोही भएनन् ।
उल्टै त्यो यौन पिपासुले आफू र उनको भिडिओसमेत बनायो । उसका लागि त्यो भिडिओ हतियार भयो र त्यही देखाउँदै ब्ल्याकमेलिङ सुरु गर्यो।
पीडित महिलाले भिडिओ डिलिट गर्न बारम्बार अनुरोध गर्दा पनि डिलिट गरेन । वैदेशिक रोजगारमा रहेका पीडित महिलाका श्रीमान् र सासू-ससुरालाई समेत भिडिओ देखायो । परिवारले भिडिओ हेरेर आफ्नो धारणा बनाए र संरक्षण गर्नु पर्ने ठाउँमा बुहारीलाई घरबाट निकालिदिए । उनी घरबाट माइती आइन् । माइती पक्षबाट संरक्षण पाए पनि आफन्तहरूबाट तिरस्कृत हुन पुगिन् ।
पीडित महिलाको उमेर भर्खर २६ पुगेको छ । घटना भएको दुई वर्षअघि नै उनको श्रीमान् वैदेशिक रोजगारको सिलसिलामा देशबाहिर गएका थिए । श्रीमान् वैदेशिक रोजगारमा गएको मौका पारेर उनी आफन्तबाटै प्रताडित हुन पुगिन्।
यो पंक्तिकारसँगको कुराकानीमा उनका आँखाबाट आँसु झरिरहेका थिए । आशु पुछ्दै भन्दै गरेका शब्द निकै मार्मिक थिए ।
घटना चार वर्षअघिको भए पनि त्यो पुरुषले बनाएको फोटो र भिडिओको कारण उनी बारम्बार जबरजस्ती करणीको सिकार भइरहिन् । घर रहेन, परिवार रहेन । साथमा रहेका दुई सन्तान पनि परिवारले खोसेर राखे । त्यसपछि उनी एक्लै काठमाडौँ आइन् । श्रीमानले वास्तविकता नबुझिइकन त्यस व्यक्तिकै कुरा पत्यायो ।
उनले रुँदै भनिन्, ‘सँगै दुख सुखमा साथ दिन्छु भन्दै कसम खाएको श्रीमानले मेरो आँशुको वास्तविकता बुझ्न खोजेनन् । ममाथि त्यो व्यक्तिले हमला नगरेको नुवाकोटको कुनै स्थान बाँकी छैन ।’
सामाजिक र राजनैतिक रूपमा अग्रस्थानमा रहेका व्यक्तिहरूको आडमा परेपछि त्यो व्यक्तिले उनीमाथि शारीरिक यातना दिने कामलाई निरन्तरता दियो ।
२०७८ कार्तिक १५ गते फेरि त्यस व्यक्तिको फोन आउँछ उनलाई । भिडिओको हवाला दिँदै ब्ल्याकमेलिङ गर्न सुरु गर्छ । “मेरो १६ जिवीको मेमोरीमा तेरो नाङ्गो भिडिओ र फोटो छ । त्यो भिडिओ फेसबुकमा हालेर सार्वजनिक गरिदिन्छु ।”
आफ्नो बच्चाको हत्या गरिदिने भन्दै दिने धम्कीको कारण उनी पुरुषले बोलाएको ठाउँमा जान्छिन् । तर उसले योजना बदल्दै जमल चोकमा बोलाउँछ ।
उनी जमल पुग्छिन् तर फेरि उसले बागबजारको एक रेष्टुराँमा बोलाउँछ । दोस्रो तल्लामा लिएर जान्छ । फेरि त्यहाँ हरकत देखाउन सुरु गर्छ । उनले प्रतिकार गर्छिन् । मलाइ भिडिओ डिलिट गर्न बोलाएर जबरजस्ती गर्ने, अब म सहन्न जे पर्छ पर्छ भन्छिन्, त्यति भन्दै गर्दा त्यो व्यक्तिले उनको कपडा च्याति सकेको हुन्छ ।
उनले दुखेसो पोख्दै भनिन्, ‘म पैसामा रिहा भइहाल्छु भन्दै ममाथि बारम्बार जाइलाग्छ । मेरै मोबाइलबाट तपाईं आउँनुस भन्ने जस्ता शब्दहरू प्रयोग गरेर उसको मोबाइलमा म्यासेज पठाउँछ । ताकी भोलि कानुनको फन्दामा परे भने त्यही म्यासेजले आफूलाई छुट्न मद्दत गर्छ भन्दै मलाई नै गलत देखाउन लागिपरेको छ ।’
मानसिक, शारीरिक र सामाजिक असर
चार वर्षदेखि भिडिओमार्फत ब्याकमेलिङ गर्दै शारीरिक यातना दिँदै आइरहेको कारण उनी शारीरिक तथा मानसिक रूपमा बिक्षिप्त बनेकी छन् । यस्तो अवस्थामा उनले घरपरिवार तथा आफन्तहरूबाट पनि सहयोग पाइनन् । चारैतिरबाट सहयोगको ढोका बन्द भएपछि उनी एक व्यक्तिमार्फत कुनै सामाजिक संस्थामा आश्रय लिएर बसेकी छन् । त्यहाँ शारीरिक रूपमा सुरक्षित भए पनि आफूमाथि भएको यातनाको मानसिक असर मेटिएको छैन । उनी बारम्बार आफ्ना बच्चाहरूलाई सम्झेर रोइरहन्छिन् ।
बडो गजबको सामाजिक संरचना छ हाम्रो, जो पीडित छ ऊ सधैँ र चारैतिरबाट पीडित भइरहने र जो पीडक छ ऊ बहादुरीका साथ समाजमा आसन ग्रहण गर्ने । प्रहरीले जोखिम लिएर अभियुक्त पक्राउ गर्छ तर त्यही अभियुक्त आत्मसम्मानको साथ अदालतबाट छुट्छ ।
अनि हामी भन्छौ दण्डहीनताको अन्त्य गरौँ । दण्डहीनताको अन्त्य बढो कठिन छ । पीडकहरू राजनीति संरक्षण र पैसाको आडमा जोगिन्छन् तर अबला नारीहरू धम्की अनि जघन्य अपराधको सिकार बन्छन् ।
माथि प्रस्तुत घटनामा पनि राजनीति संरक्षण भएको देखिन्छ भने अर्कोतिर जो महिला यौन पिपासुको चङ्गुलमा पर्छिन् । फेरि त्यही महिला घरपरिवारबाट समेत अपहेलित हुन्छिन् । श्रीमानले पनि बलात्कारीको कुरा सुन्छ । पीडकले महिलाको एक्लोपनको फाइदा उठाउँदै जान्छ ।
कानुनी लडाइको सुरुवात
२०७८ कात्तिक १५ गते फेरि त्यस व्यक्तिको फोन आउँछ उनलाई । भिडिओको हवाला दिँदै ब्ल्याकमेलिङ गर्न सुरु गर्छ । ‘मेरो १६ जिबीको मेमोरीमा तेरो नाङ्गो भिडिओ र फोटो छ, त्यो भिडिओ फेसबुकमा हालेर सार्वजनिक गरिदिन्छु ।’
आफ्नो बच्चाको हत्या गरिदिने भन्दै दिने धम्कीको कारण उनी पुरुषले बोलाएको ठाउँमा जान्छिन् ।तर उसले योजना बदल्दै जमल चोकमा बोलाउँछ ।
उनी जमल पुग्छिन् तर फेरि उसले बागबजारको एक रेष्टुराँमा बोलाउँछ । दोस्रो तल्लामा लिएर जान्छ । फेरि त्यहाँ हरकत देखाउन सुरु गर्छ । उनले प्रतिकार गर्छिन् । मलाइ भिडिओ डिलिट गर्न बोलाएर जबरजस्ती गर्ने, अब म सहन्न जे पर्छ पर्छ भन्छिन्, त्यति भन्दै गर्दा त्यो व्यक्तिले उनको कपडा च्यातिसकेको हुन्छ ।
त्यतिकैमा पसलको साहुले प्रहरी बोलाउँछन् । प्रहरी आइपुग्ने बेलासम्म त्यो व्यक्ति भाग्न सफल हुन्छ । घटना भएको भोलिपल्ट प्रहरीले मैनाली थरका ती व्यक्ति पक्राउ गर्छ, त्यसपछि महानगरीय प्रहरी वृत्त सिहदरबारबाट मुद्दा चल्छ ।
प्रहरीले घटनाको मुचुल्का उठाउनेदेखि स्वास्थ्य परीक्षणसम्म गर्यो । सबैमा पीडित महिलाले भनेझैँ प्रमाणहरू फेला पर्दै गए । जाहेरी दरखास्तदेखि अनुसन्धान गरेका फाइल सरकारी वकिल कहाँ बुझाउँछ । त्यति बेलासम्म प्रहरीले सबै सबुती प्रमाणहरु फेला पारिसकेको हुन्छ ।
त्यही सबुद प्रमाणहरूको आधारमा २०७८ मङ्सिर १३ गते काठमाडौँ जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद बाँस्तोलाको एकल इजलासले ती पुरुषलाई दोषी ठहराउँदै पुर्पक्षको लागि कारागार चलानको आदेश दियो ।
उनको लागि न्यायको पहिलो सुरुवात यहीबाट भयो । तर ऊ कारागारमा पुगे पनि घर परिवारलाई फोन गर्ने बहाना गर्दै पीडित महिलालाई ज्यान मार्ने धम्की दिइरहन्छ ।
बकपत्रको समय जिल्ला अदालत काठमाडौँमा पीडित महिलालाई लात्तीले हिर्काउँछ । हिरासतभित्र हुँदा त यतिसम्मको हरकत गर्न सक्ने व्यक्तिले उनलाई एक्लैमा कति यातना दियो होला तपाईं-हामी सजिलैसँग अनुमान लगाउन सक्छौँ ।
उक्त पुरुष पुर्पक्षमा गएपछि जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत जान्छ। पाटन उच्च अदालतले उसलाई धरौटीमा रिहा गरिदिन्छ ।
माघ ६ गते उच्च अदालतका न्यायधीशद्वय भोजराज अधिकारी र जगदिश घिमिरेको इजलासले मैनाली थर भएका ती पुरुषलाई एक लाख रुपैयाँ धरौटीमा छुट्ने आदेश दिन्छन् । उच्च अदालतले मैनाली धरौटीमा रिहा गर्दा तीनवटा आधार उल्लेख गरेको छ ।
जसमध्ये मैनालीले सहमतिमा नै करणी गरेको, दोस्रो चार वर्षदेखि जबरजस्ती गरेको पीडितले बताए पनि कात्तिक १५ गतेमात्रै जाहेरी दरखास्त दिएको र तेस्रो स्वास्थ्य परीक्षण प्रतिवेदनमा योनीको झिल्ली च्यातिएको ।
तर पीडितको विपक्षमा आएका आधारहरू मिल्न नसक्ने पाटन उच्च अदालतका अधिवक्ताहरू बताउँछन् । वास्तवमा उच्च अदालतले दिएको आधारहरू आफैँमा बाझिएको देखिन्छ । व्यक्तिले सहमतिमै शारीरिक सम्पर्क राखे पनि करणीको हवाला दिन मिल्दैन, चार वर्षअघि नै किन उजुरी नदिएको भन्ने अदालतले दिएको आधारबाट झन् पीडितको न्याय खोज्ने बाटो नै बन्द गरेको बुझिन्छ भने अर्कोतिर ती विवाहित महिला हुन्, उनको दुई सन्तान छन् र उनको योनीको झिल्ली त्यतिकै च्यातिएको हुन्छ । यसरी पहिले नै योनीको झिल्ली च्यातिएको भन्दै अदालतले बलात्कार नभएको अनुमान लगाउन मिल्दैन । उच्च अदालतबाट आएको आदेशविरुद्ध उनी फेरि कानुनी लडाइँ गर्ने निर्णयमा पुगेकी छन् ।
कानुनी व्यवस्था
माथि प्रस्तुत घटनामा पीडकलाई धरौटीमा छोड्ने आदेश उच्च अदालतले दियो । अदालतले दिएको आदेशमा चित्त नबुझे सम्बन्धित पक्ष एक तहमाथिको अदालतमा जान सक्ने मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७३ ले व्यवस्था गरेको अधिवक्ता भीमप्रसाद धिमाल बताउँछन् ।
त्यसैगरी अपराध पीडित संरक्षण ऐन २०७५ को दफा १७ अनुसार अदालतको आदेश वा निर्णयमा चित्त नबुझेकोमा त्यस्तो आदेश वा निर्णयविरुद्ध नेपाल सरकारलाई प्रचलित कानुनबमोजिम निवेदन वा पुनरावेदन दिन अनुरोध गरी सम्बन्धित निकाय वा अधिकारीसमक्ष लिखित निवेदन दिन सक्ने व्यवस्था भएको अधिवक्ता धिमालले बताए । हाल उनले कानुनी लडाइँको लागि सहयोगको अपिल गरेकी छन् ।
यो पीडित महिलाको वास्तविकता हो । गोपनियताको कारण पीडित र पीडक दुवैको नाम गोप्य राखिएको छ ।
नोट : हामीले ७ दिनसम्म बलात्कारविरुद्ध सातवटा स्टोरीहरू प्रकाशित गर्नेछौँ । आज पाँचौँ दिन हो । तपाईंलाई पनि बलात्कारविरुद्ध केही लेख्न मन छ भने हामीलाई [email protected] मा पठाउन सक्नुहुन्छ । अघिल्लो वर्ष भ्यालेन्टाइन सप्ताह मनाइरहँदा हामीले बलात्कारविरुद्धको अभियान सुरुवात गरेका थियौँ । यो वर्ष त्यसकैको निरन्तरता हो । अभियान नाम सुन्नेबित्तिकै कुनै संस्था, सरकार वा आइएनजिओबाट आर्थिक रकम लिएको बुझिएला तर यसमा कसैको सहयोग नरहेको स्पष्ट पार्न चाहन्छौँ । यो अभियान समाजमा चेतना जगाउने केटिएम दैनिकको प्रयास हो ।