मोरङको बेलबारी नगरपालिकामा नेपाली सेनाका पूर्वजम्दारसमेत रहेका आफ्नै बुबाबाट बलात्कृत बालिकाले न्याय पाएकी छन् । जिल्ला अदालत मोरङबाट न्याय नपाएपछि उच्च अदालत विराटनगरको सहारा लिएकी १४ वर्षीया बालिकाले न्याय पाएकी हुन् ।
नेपाली सेनाका पूर्वजम्दारसमेत रहेका उनलाई जिल्ला अदालतले पाँच लाख धरौटीमा छोड्ने आदेश दिएको थियो । तर उच्च अदालत विराटनगरले भने उनलाई पूर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो । उच्च अदालत विराटनगरका न्यायाधीश सत्यमोहन जोसी र मिलनकुमार राईको इजलासले आरोपीलाई थुनामा राखेर मुद्दाको पूर्पक्ष गर्न आदेश दिएको हो ।
उच्चको आदेशमा भनिएको छ ‘घटना व्यहोरासहितको स्वास्थ्य परीक्षण प्रतिवेदनसमेतका तत्काल प्राप्त प्रमाणहरुबाट त्यहाँ(जिल्ला) अदालतबाट साङ्केतिक नाम ०७८ बेलबारी ११ लाई पाँच लाख धरौटी माग गरी मुद्दा पूर्पक्ष गर्ने गरी भएको आदेश मिलेको नदेखिँदा बदर गरिदिएको छ । अब प्रतिवादीलाई थुनामा राखी पूर्पक्ष गर्नु ।’
ती बालिका बेलबारी–११ मा आफ्नो बुबाको साथमा बस्दै आएकी थिइन् । बेलबारीमै कक्षा ९ मा पढ्ने उनले ५१ वर्षीय बुबाले तीन वर्षदेखि पटक–पटक बलात्कार गरेको बताएकी थिइन् । ११ वर्षको उमेरदेखि आफूलाई पटक–पटक बाबुले बलात्कार गरेको बताउँदै उनले पछिल्लो पटक २०७७ साल माघ २० गते राति आफ्नै घरमा धाकधम्की दिँदै डर देखाएर बलात्कार गरेको बताइन् ।
पछिल्लो पटक भने उनले प्रहरीलाई यसबारे जानकारी दिने आँट गरिन् । बलात्कारपछि बिरामी परेकी उनले सात महिनापछि अर्थात् भदौ ४ गते इलाका प्रहरी कार्यालय बेलबारीमा किटानी जाहेरी दिएकी थिइन् । त्यसपछि प्रहरीले ती पुरुषलाई गत भदौको पहिलो साता पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठका अनुसार भदौ ७ गते सोमबार जिल्ला अदालत मोरङमा म्याद थप गरिएको थियो ।
तर अदालतले उनलाई पाँच लाख रुपैयाँ धरौटीमा उनलाई छोडेपछि ती बालिका र उनकी आमाले पत्रकार सम्मेलन गरेर न्याय नपाएको गुनासो गर्दै आएका थिए । ती बालिकाले आफ्नी आमालाई पनि यो विषय सुनाए पनि आमाले गम्भीर रूपमा नलिँदा तीन वर्षदेखि बलात्कृत बन्नुपरेको बताएकी थिइन् । पीडित बालिकाकी आमा ती सेनाका पूर्वजम्दारका अरू दुई जना पत्नी रहेको थाहा पाएपछि झापाको बिर्तामोड बस्न थालेकी थिइन् । छोरीलाई बेलबारी छोडेर उनी भने बिर्तामोड बस्ने गरेकी थिइन् ।
बलात्कार आरोप लागेका ती पुरुषका दुई पत्नी छन् । कान्छी पत्नी केही वर्षयता श्रीमानसँग सम्बन्ध बिच्छेद गरी झापा बिर्तामोडमा बसेकी छन् । पीडित भनिएकी बालिका कान्छी पत्नीकी छोरी हुन् ।