भारतको उत्तर प्रदेशमा दलित परिवारका चार जनाको हत्या भएको छ ।
प्रयागराजको मोहनजङ्ग गोवरी गाउँमा शुक्रबार एकै परिवारका चार जनाको बन्चरो प्रहार गरी हत्या भएको बीबीसीले जनाएको छ ।
परिवारको हत्या अघि बालिकामाथि सामूहिक बलात्कार पनि भएको आफन्तजनले आरोप लगाएका छन् ।
उनीहरुले बालिकामाथि बलात्कार पछि परिवारका चार जनाको हत्या भएको भन्दै प्रहरीमा उजुरी दिएका छन् ।
जग्गाको विषयमा गाउँकै केही व्यक्तिसँग विवाद हुँदा त्यतिबेला पनि दलित परिवारमाथि कुटपिट भएको थियो ।
कुटपिट र ज्यान मार्ने धम्कीको विषयमा पहिले नै प्रहरीमा उजुरी दिए पनि कुनै सुनुवाइ नभएको र हिजो चार जनाको हत्या भएको आफन्तले बताएका छन् ।
प्रहरी र अभियुक्तको मिलेमतोमा घटना भएको भन्दै उनीहरुले निष्पक्ष छानबिनको माग गरेका छन् ।