मेडिकलमा उपचारका लागि आएका बिरामीलाई यौन हिंसा (बलात्कार) गरेको आरोपमा धनकुटाबाट एक जना चिकित्सक पक्राउ परका छन् । पक्राउ पर्नेमा धनकुटा–७ मा रहेको सुवास मेडिकलका सञ्चालक डाक्टर राज शर्मा रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी नायव उपरीक्षक दीपककुमार रायले जानकारी दिए ।
डिएसपी रायका अनुसार धनकुटा पाख्रिबासका एक जना ५३ वर्षीय पुरुषलाई यौनहिंसा गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो । बिरामीले आफूलाई मेडिकल सञ्चालक शर्माले यौनहिंसा गरेको भन्दै उजुरी दिएपछि उनलाई पक्राउ गरिएको डिएसपी रायले बताए ।
पीडित पुरुष २४ गते साँझ पिसाबसम्बन्धी समस्याको उपचार गर्न उक्त मेडिकल पुगेका थिए । राति साढे १० बजे मादक पदार्थ सेवन गरी बिरामी कक्षमा पुगेका शर्माले पुरुषको मलद्वारमा बलात्कार गरेकाे पीडित पुरुषले आरोप लगाएको प्रहरी स्रोतले छ ।
‘आइतबार घटना भएको रहेछ, भोलिपल्ट पीडितले प्रहरीमा जाहेरी दिएका थिए’, डिएसपी रायले केटिएम दैनिकसँग भने, ‘साेमबार नै पक्राउ गरेका हाैँ । थप अनुसन्धान भइरहेकाे छ । बाँकी विवरण चाँडै नै पत्ता लगाउँछाैँ ।’ उपचारका लागि आएका पुरुषमाथि यौनहिंसा भएको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको उनले जनाएका छन् ।
यता, शर्माले भने आरोप अस्वीकार गरेका छन् । शर्माले आफूलाई यौनहिंसा गरेको भन्दै पीडितले प्रहरीलाई उजुरी दिएका छन् । उनले बिरामीले आफूलाई अभद्र व्यवहार गरेको उल्टै आरोप लगाएका छन् । ‘डाक्टरले पछि आफू नै उल्टै बलात्कृत भएँ भनेर भन्नुभएको छ’, डिएसी रायले भने, ‘उहाँले घटना घटेका बेला मापसे गर्नुभएको स्वीकार्नु भएको छ । तथापि, दुवै पक्षमाथि अनुसन्धान भइरहेकाे छ ।’
डा. शर्मा मोरङको विराटनगर महानगरपालिका–१२ खरैयाका स्थायी बासिन्दा हुन् । उनी विगत २ वर्षयता धनकुटा–७ मा रहेको सुवास मेडिकलका सञ्चालन गरेर बसेका थिए ।