
काठमाडौं, ३१ जेठ । सिमा विवादमा भारतले नेपालसँग वार्ताका प्रस्ताव गरेको खुलासा भएको छ । विदेश सचिवस्तरीय टेलिफोन कल र त्यसपछि भिडियो कन्फरेन्समार्फत् दुवै देशका विदेश सचिवबीच वार्ताको प्रस्ताव भारतका तर्फबाट भएको खुलासा भएको हो ।
भारतको विदेश मन्त्रालय स्रोत उल्लेख गर्दै हिन्दुस्तान टाइम्सको अनलाइन संस्करणले भारतबाट वार्ताको प्रस्ताव भएको आज समाचार प्रकाशन गरेको हो । भारतले स्पष्ट रुपमा विदेश सचिवस्तरीय वार्ता गरी नेपालका परराष्ट्र सचिवको भारत भ्रमण समेत तय गर्ने गरी प्रस्ताव गरेको समाचारमा उल्लेख छ ।
“अहिले नेपालमा कुटनितिज्ञ, राजनीतिक बिद र जनतासमेत चकित भएर बसेका छन् । नेपालले नक्सा पारित गरिसक्दा पनि भारत किन मौन बसेको छ भनेर । तर भारत चुप लागेर बसेको छैन । पटक पटक बार्ताको लागि पहल गरेको छ । तर प्रधानमन्त्री ओलीले वास्ता गरेका छैन्न ।” हिन्दुस्तान टाइम्सको तर्क छ ।
नेपालमा संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता नहुँदै प्रधानमन्त्री केपी शर्मा अोली र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसम्म वार्ताको प्रस्ताव कुटनीतिक माध्यमले पठाइएको समाचारमा लेखिएको छ ।
परराष्ट्रमन्त्री ज्ञवालीले संसदमा गत कात्तिक महिना देखि वार्ताको प्रस्ताव गर्दा भारतले बेवास्ता गरेको बताइरहँदा भारतीय पक्षबाट वार्ताको प्रस्ताव भएको खबर बाहिर आएको हो । नेपालको परराष्ट्र मन्त्रालयको स्रोत उल्लेख गर्दै हिन्दुस्तान टाइम्सले ओली भारतको वार्ता प्रस्तावमा अनिच्छुक देखिएको लेखेको छ ।