
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अमेरिकी मिलेनियम कर्पोरेशन सहायता परियोजना (एमसिसी) लामो समय रोकेर राख्न नहुने बताएका छन् ।
मन्त्री ज्ञवालीले आज अपराह्न मन्त्रालयमा सञ्चारमाध्यमहरुसँग कुरा गर्दै उक्त सम्झौताले नेपालको समग्र बाह्य सम्झौतामा असर गर्ने बताएका हुन् ।
अमेरिकी मिलेनियम कर्पोरेशन सहायता परियोजना (एमसिसी) विवादबारे सोधिएको एक प्रश्नमा मन्त्री ज्ञवालीले विकास परियोजनाका विषयलाई पार्टीभित्रको विवादको विषय नबनाइएको भए उचित हुने तर बहसमा आइसकेको हुनाले चाँडै उचित निर्णयमा पुगिने बताए।
उनले प्रतिप्रश्न गरे, ‘बढाइचढाइ गरिएका कारण कतिपय विवाद उत्पन्न भएका हुन् कि ? एमसिसी परियोजना लागू भएका विश्वका कुन मुलुकमा अमेरिकी सेना गएको छ वा अमेरिकी सेना रहेको कुन कुन मुलुकमा एमसिसी परियोजना लागू भएको छ ?’ उनले बहसका पक्षहरूलाई राम्ररी सम्झौताको अध्ययन गरी धारणा बनाउनसमेत आग्रह गरे ।
उनले उक्त सम्झौतालाई नेपालको समग्र बाह्य सम्बन्धमा पर्ने प्रभाव र आर्थिक सहायता नीतिबारे सुविचारित रुपमा निर्णय गर्नुपर्ने र संसद्ले यस्ता विषयलाई छलफल गराउन लामो समयसम्म रोकेर राख्न नमिल्ने बताए ।
जेठ २७ गतेको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री युवराज खतिवडाले एमसीसी सम्झौता नेपालले तोडेमा अमेरिकासँगको सम्बन्ध र अन्तर्राष्ट्रिय सहयोगको वातावरण बिग्रिने बताएका थिए ।
‘एमसीसी आयोजना तोडेर मित्रराष्ट्रसँगको सम्बन्ध बिगार्ने र अन्तर्राष्ट्रिय सहयोगको वातावरण बिगार्ने हामीले गर्नुहुन्छ जस्तो मलाई अहिले लाग्दैन,’ खतिवडाले संसदमा बोल्दै उक्त कुरा बताएका हुन् ।
हेर्नुहोस खतिवडाको भनाइको भिडियो