
नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले निर्वाचनबाट पराजित हुने डरले सत्तारुढ दलहरु आफैं अत्तालिन थालेको बताएका छन् ।
एमाले चितवन–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा उनले स्थानीय तह निर्वाचनमा सत्तारुढ दलहरु निर्वाचनदेखि अत्तालिन थालेको बताएका हुन् । उनले केन्द्रमा सहमति भएतापनि स्थानीय तहमा एकताबद्ध भएर जाने अवस्था नरहेको समेत बताए ।
गठबन्धनका लागि नेपालगन्जमा जसपाले नमानेको, पर्साका कांग्रेसहरु आफै असहमत रहेको, रोल्पामा हुँदैन भनेर वक्तव्य आउनेवाला रहेको उल्लेख गर्दै उपमहासचिव ज्ञवालीले यस्तो अवस्थामा सत्तारुढ दलहरुलाई बलियो शक्ति मान्ने कुरा भ्रममात्रै हुने बताए ।
स्थानीय तहको चुनावी गठबन्धनमा जुटेको सत्तारुढ दलहरुभित्रै पहिरो जान सुरु गरेको बताएका छन् । भित्रभित्रै पहिरो जाने अवस्था भएपछि निर्वाचनबाट पराजित हुने डरले सत्तारुढ दलहरु आफैं अत्तालिरहेको उपमहासचिव ज्ञवालीको भनाइ छ ।
‘विगतमा गठबन्धनसँगै लडेर हामीले ४१ प्रतिशत जित हासिल गरेका थियौं । उनीहरुले जतिसुकै प्रयास गरे पनि गठबन्धन तलसम्म एकताबद्ध गरेर लैजाने अवस्था छैन । यही कारणले उनीहरु अत्तालिएका छन् । गठबन्धनमा पहिरो जान सुरु गरिरहेको अवस्था छ ।’