
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको जारी सचिवालय बैठकमा एमसिसीबारे छलफल भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको बैठकमा एमसिसीबारे छलफल भइरहेको एक सचिवालय सदस्यले बताए। एमसीसीको बिरोधी भिम रावललाई समेत सामेल गराएर बैठक बसेपछि यो बैठकलाई बिशेष रुपमा हेरिएकाे छ ।
संसदबाट पारित हुन बाँकी रहेको र विवादित बनेको एमसिसी बजेटमा समावेश गरेको भन्दै नेकपाका केही सचिवालय सदस्य रूष्ट छन्।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीभित्र फेरि नयाँ विवाद निस्किएको छ । सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा अमेरिकी च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विषय घुसाएपछि विवाद निस्किएको हो ।
सत्तारुढ दल नेकपाभित्रै एमसिसीबारे विवाद रहेकाले एमसिसीले सहयोग गर्ने भनिएका कार्यक्रम अर्थमन्त्री डा. युवराज खतिवाडले बजेटमा समावेश गर्दै कार्यान्वयनमा लैजाने घोषणा गरेका थिए ।
जसमा एमसिसीको सहयोगमा अघि बढाउने भनिएको लप्सिफेदी–रातामाटे–दमौली–बुटवल र लप्सिफेदी–रातामाटे–हेटौँडा विद्युत् प्रसारणलाइन बजेटमार्फत नै अघि बढाइएको छ भनेर उनले बजेट भाषणमा प्रस्ट पारेका थिए । धेरै नेपालीले याद नगरे पनि केटिएम दैनिकले तत्काल समाचार बनाएको थियो ।
यी आयोजना सरकारको नीति तथा कार्यक्रममा पनि समावेश गरिएको थियो । जसको विरोधमा संसदमा नेकपाकै सांसद भीम रावलले चर्को विरोध गरेका थिए ।
बजेटमा एमसीसी घुसाएपछि शुक्रबार अपरान्ह अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली निकटका नेताहरुले जुम बैठक गरेका थिए । विश्वस्त स्रोतका अनुसार उपाध्यक्ष बामदेव गौतमले जुम बैठकको व्यवस्था गरेका थिए । गौतमसहित अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपालका अलावा प्रवक्ता नारायणकाजी श्रेष्ठ जुम बैठकमा सहभागी भएका थिए । उनीहरुले सरकारको कार्यशैलीको समिक्षा गरेको बुझिएको छ ।
सरकारले ल्याएको राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेशका बेलामा ओलीविरुद्ध बनेको गुट फेरि ब्युँतिएको छ । सचिवालयका यीनै पाँचजना त्यतिबेला ओली हटाउन सम्मको निर्णयमा पुगेर लागेपनि आपसी मतभेदका कारण असफल भएका थिए । बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव ल्याएर ओलीले गुट भत्काइदिएका थिए । तर, ओलीको कार्यशैलीप्रति स्वयं गौतम निकै असन्तुष्ट बनेपछि अब चाहिं नटुट्ने गरी एकता गरेर जाऔं भन्दै पाँच जनाको बैठक डाकेका थिए ।
एमसीसीबारे ओली निकट नेताहरु पनि विरोधमा छन् । उनीहरुले संसदबाट एमसीसी पारित गर्न केही विषयमा संशोधन हुनुपर्ने अडान राखेका छन् ।
अहिले शुरु भएको सचिवालय बैठकमा एमसीसी बजेटमा घुसाइएको विषयका अलावा नक्शा संसदमा छलफलका लागि पेश गर्न गरिएको ढिलाई, लकडाउनको समिक्षालगायतमा छलफल हुने बुझिएको छ । आज ओलीमाथी उनी निकट रहेका नेताहरु आक्रामक ढंगले प्रस्तुत हुने तयारीका साथ बालुवाटार पुगेका छन् ।
विश्वस्त स्रोतका अनुसार केही नेताहरुले सरकार ढाल्न फेरि नयाँ अस्त्र तयार गरेका छन् । यसपटकको अस्त्र एमसीसी लगायतको हुने बुझिएको छ । ओली सरकारमाथि एकैपटक धेरैवटा अस्त्र प्रहार गर्ने गरी नेकपाभित्रका नेताहरुको एक गुट पूर्ण तयारीका साथ बढेको छ ।