
नेकपा एमालेका सांसद भीम रावलले आफूले सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट नराख्ने बताएका छन्।
बुधबार संसदको राज्यका निर्देशक सिद्धान्त, नीति दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा बोल्दै रावलले यस्तो बताएका हुन्।
‘म इम्बोस्ड नम्बर हाल्दै हाल्दिनँ। इम्बोस्ड नम्बर प्लेट नराख्दा सरकारले एक वर्ष जेल हाल्ने भनेको छ, म एक वर्ष जेल जान तयार छु,’ उनले भने।
याायात विभागका महानिर्देशक नवराज घिमिरेले अहिलेलाई सरकारी गाडीलाई इम्बोस्ड नम्बर प्लेट अनिवार्य भएको बताए। ‘२०७८ फागुनपछि व्यक्तिबाट नयाँ गाडी किन्दा इम्बोस्ड नम्बर राख भनेको हो। साउनदेखि नवीकरण गर्ने बेलामा हुन्छ,’ घिमिरेले भने,‘त्यो नम्बर कुदेको हुन्छ। त्यही भएर खुइँलिदैन।’
इम्बोस्ड नम्बर प्लेटबारेको छलफलमा यातायात मन्त्री रेनुकुमारी यादव भने अनुपस्थित भएकी छन्। मन्त्रीको अनुपस्थितिबारे समिति सदस्यहरूले आशंका र प्रश्न गरेका छन्।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत कात्तिक २२ मा राजपत्रमा सूचना प्रकाशन गर्दै मंसिर १ देखि नाम टुंगिएका सबै प्रदेशमा इम्बोस्ड नम्बर प्लेट लागू गर्ने भनेको थियो । सूचनाअनुसार मंसिर १ देखि नयाँ दर्ता हुने, फागुनदेखि नामसारी गरिने र जेठ १ देखि नवीकरण गर्ने सवारीमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य जडान गर्नुपर्ने थियो ।
उक्त नियम लागू गर्न नसकिरहेका बेला विभागले फेरि वागमती र गण्डकीमा साउन १ देखि इम्बोस्ड प्लेट अनिवार्य जडान गर्न/गराउन सूचना जारी गरेको छ ।
यस अवधिमा जडान नगरे कारबाही गर्नेसम्मको चेतावनी दिएपछि यसको सर्वत्र विरोध भयो । तर पछि फेरि विभागले नम्बर प्लेट अनिवार्य गर्दै निर्णयमा लचिलो बन्दै साउन १ बाट सबै सवारीमा इम्बोस्ड नम्बर अनिवार्य नभनिएको र राजपत्रमा प्रकाशित सूचनालाई निरन्तरता दिइएको जनाएको छ ।