
विश्वभरी महामारीको रूपमा फैलिएको कोरोनाभाइरसबाट बिहीबार दिउँसोसम्म मृत्यु हुनेको संख्या एक लाख ३४ हजार ८ सय नाघेको छ । हालसम्म कोरोना भाइरसबाट संक्रमण हुनेको सङख्या २१ लाख हाराहारी पुगेको छ । बिहिबार दिउँसो यो समाचार तयार पार्दासम्म २० लाख ८९ हजार ६ सय १७ जना कोरोना भाइरस संक्रमितहरु फेला परिसकेका छन् ।
विश्व स्वास्थ्य संगठन र जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको पछिल्लो विवरणमा संयुक्तराज्य अमेरिकामा संक्रमित र मृत्यु हुने व्यक्तिको संख्या सबैभन्दा बढी देखिएको उल्लेख छ ।
अमेरिकामा ६ लाख ४४ हजार भन्दा बढी मानिस कोरोना संक्रमित भएका छन् भने २८ हजार भन्दा बढीको मृत्यु भएको छ । गत चौबीस घण्टामा अमेरिकामा २ हजार ४ सय ८२ जनाको मृत्यु भएको थियो ।
दोस्रो र तेस्रो स्थानमा इटाली र स्पेन रहेका छन् । इटालीमा २१ हजार ६ सय भन्दा बढीको ज्यान गएको छ, भने संक्रमितको एक लाख ६५ हजार नाघेको छ । स्पेनमा भने १८ हजार ८ सय भन्दा बढीको मृत्यु भएको छ । संक्रमितको संख्या १ लाख ८० सय ६ सय हजार नाघेको छ ।
कोरोनाभाइरसकै कारण अर्को युरोपेली मुलुक फ्रान्समा १७ हजार १ सय ६७ जना र बेलायतमा १२ हजार ८ सय ६८ जनाको मृत्यु भएको छ । बेल्जियममा ४ हजार ४ सय ४० जना, जर्मनीमा ३ हजार ८ सय ४ जना, नेदरल्यान्ड्समा ३ हजार १ सय ३४ जना, स्वीट्जरल्यान्डमा १ हजार २ सय ३९ जना, स्वीडेनमा १ हजार २ सय ३ जना र आयरल्यान्डमा ४ सय ४४ जनाको मृत्यु भएको छ ।
संयुक्तराज्य अमेरिकामा संक्रमित हुने र मृत्यु हुनेको संख्या बढ्दै गएपछि देशका धेरै राज्यमा अहिले संकटकालको घोषणा गरिएको छ । लकडाउन नलगाउने घोषणा गर्दै आएका राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक दूरी कायम गर्ने सुझावहरू हाललाई अप्रिल ३० सम्म तोक्नु भएको छ ।
परिस्थिति जटिल बनेको भए पनि मानिसको आवागमन र व्यवसाय खोल्नेतर्फ राष्ट्रपति ट्रम्पले प्रस्तावहरू अघि बढाउनु भएको छ, तर राज्यका गभर्नरसँग यही विषयमा मतभेद उत्पन्न भएको छ ।