
संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)सँग अमेरिकाले सम्बन्ध तोड्ने घोषणा गरेका छन् ।
उनले अमेरिकाले विश्व स्वास्थ्य सङ्गठनसँगको सबै खाले सम्बन्ध तोड्ने घोषणा गरेका हुन् ।
विश्वमा फैलिएको कोभिड १९ को विषयलाई लिएर पछिल्लो समयमा संयुक्त राज्य अमेरिका र विश्व स्वास्थ्य सङ्गठनबीचको सम्बन्ध चिसिएको थियो । राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य सङ्गठनले अमेरिकाको नभएर चीनको मात्र भाषा बोलेको आरोप लगाउँदै आएका थिए ।
ट्रम्पले उक्त सङ्गठनसँगको सम्बन्ध तोड्ने जानकारी दिँदै कोरोना भाइरस सङ्क्रमण फैलिनबाट रोक्न विश्व स्वास्थ्य सङ्गठन असफल भएको आरोप पनि लगाएका छन् । उनले गत महिनामात्र पनि अमेरिकाले विश्व स्वास्थ्य सङ्गठनलाई दिँदै आएको आर्थिक सहयोगको मात्रा पनि बन्द गरिदिने चेतावनी दिएका थिए ।
संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले विश्व स्वास्थ्य सङ्गठनलाई वर्षेनी ४५ करोड अमेरिकी डलर बराबरको आर्थिक सहायता प्रदान गरी आएको जानकरी गराउँदै तर पनि उक्त सङ्गठनले अमेरिकाको आवाज बोल्न नसकेको आरोप लगाए ।
शुक्रबार ह्वाइटहाउसमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले भने– चीनले वर्षेनी विश्व स्वास्थ्य सङ्गठनलाई ४ करोड अमेरिकी डलर बराबरको मात्र आर्थिक सहायता दिँदैआएको छ तर उक्त सङ्गठनमाथि चीनले नै नियन्त्रण जमाएको छ ।
उनले अमेरिकाले विश्व स्वास्थ्य सङ्गठनलाई वर्षेनी ४५ करोड अमेरिकी डलर बराबरको आर्थिक सहायता प्रदान गरी आएको जानकरी गराउँदै तर पनि उक्त सङ्गठनले अमेरिकाको आवाज बोल्न नसकेको आरोप लगाए । उक्त सङ्गठनलाई व्यापक सुधार गर्न अमेरिकाले अनुरोध गरेको भए पनि उ असफल भएको आरोप पनि राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाउनुभयो । उहाँले भन्नुभयो– त्यसैले पनि हामीले आजबाट विश्व स्वास्थ्य सङ्गठनसँगको सबै खालको नाता तोड्दैछौँ ।
यस घोषणासँगै राष्ट्रपति ट्रम्पले संयुक्त राष्ट्रसंघअन्तर्गतको संस्था डब्ल्यूएचओलाई अमेरिकाले दिँदै आएको ४५ करोड अमेरिकी डलर बराबरको आर्थिक सहयोगको रकम अबदेखि विश्वमा जनस्वास्थ्यका क्षेत्रमा लगाउने पनि जानकारी दिनुभयो ।
संयुक्त राज्य अमेरिका विश्व स्वास्थ्य सङ्गठनको सबैभन्दा ठूलो दाताराष्ट्र हो । अमेरिकाले प्रत्येक वर्ष उक्त सङ्गठनलाई ४५ करोड अमेरिकी डलर बराबरको आर्थिक सहायता उपलब्ध गराउने गर्छ ।
यसअघि देखि नै राष्ट्रपति ट्रम्पले चीनबाट सुरु भएको कोरोना भाइरसको सङ्क्रमण विश्वभर फैलिनु र जनधनको ठूलो क्षति हुनुमा उक्त सङ्गठनलाई दोषी देखाउँदै आएका छन् ।
अमेरिकाले विश्व स्वास्थ्य सङ्गठनमा विस्तृत रुपमा सुधार गर्ने भनेको तर पति उक्त सङ्गठनले नमानेको आरोप ट्रम्पको छ ।
अमेरिकाले उक्त भाइरसको प्रकोप फैलिएदेखि नै कोरोना भाइरस फैलिनुको कारण पत्ता लगाउन विश्व स्वास्थ्य सङ्गठनले विशेषज्ञहरूको टोली चीन पठाउनुपर्ने माग राख्दैआएको छ । तर त्यस मागप्रति चीन र विश्व स्वास्थ्य सङ्गठन नै सकारात्मक छैनन् । कोरोना भाइरसबाट विश्वमै सबैभन्दा बढी प्रभावित देश अमेरिका हो । अमेरिकामा कोरोना सङ्क्रमणका कारण एक लाखभन्दा बढीको ज्यान गएको छ भने १७ लाखभन्दा बढी नागरिक सङ्क्रमित छन् ।