
अमेरिकाले नेपाललाई कोरोना भाइरसको संक्रमणविरुद्ध लड्नका लागि ३० लाख डलर स्वास्थ्य सहयोग गरेको छ ।
अमेरिकी राजदूत र्याण्डी बेरीले कर्णाली प्रदेश तथा प्रदेश ५ मा स्वास्थ्य प्रणालीलाई मजबुत बनाउने कार्यमा सहयोग गर्नका लागि अमेरिकी जनताले युएसएआईडीमार्फत नेपाल सरकारलाई सहयोग गरेको बताएका छन् ।
‘मुलुकै सर्वाधिक सङ्कटापन्नमध्येका धेरै समुदायहरु छन् । र जुन क्षेत्र विदेशमा काम गरी फर्किने थुप्रै नेपालीहरुको गन्तव्य थलो समेत हो’, उनले भनेका छन् ।
राजदूत बेरीकाअनुसार यस पछिल्लो योगदानसँगै नेपाल सरकारको कोरोना भाइरसविरुद्धको प्रतिकार्यको सहयोगार्थ युएसएआईडीको अतिरिक्त आर्थिक सहयोग ७३ लाख डलर पुगेको छ ।
‘मलाई हर्ष लागेको छ कि अमेरिकी जनताले युएसएआईडीमार्फत थप ३० लाख अमेरिकी डलर स्वास्थ्य सहयोग स्वरुप उपलब्ध गराएका छन्’, राजदूत बेरीले भने ।

गत चैतमा व्यक्तिगत सुरक्षा उपकरण आपूर्तिका रुपमा सुरु भएको उक्त सहयोग यस रोगविरुद्धको लडाइँका लागि अझै सारभूत सहयोगका रुपमा वृद्धि भइरहेको राजदूत बेरीले बताए ।
‘यो अतिरिक्त सहयोग हामीद्वारा यसअघि प्रदान गरिएको १८ लाख डलर जसले परीक्षण, सम्पर्क खोजतलास, स्वास्थ्य तयारी र सामुदायिक शिक्षालाई मद्धत गरेको थियो’, उनले भने ।
त्यस्तै राजदूत बेरीले कोरोना भाइरसको दोस्रो तहको आर्थिक सामाजिक प्रभावको प्रतिकार्यका लागि २५ लाख डलर थप सहयोग गरेको जानकारी दिए ।