
अमेरिकाको राष्ट्रपतिको आगामी कार्यकालका लागि डेमोक्याटिक पार्टीको तर्फबाट जो बाइडेनले उम्मेरबारी दिने सुनिश्चित भएको छ ।
यही बर्ष सन् २०२० को नोभेम्बरमा हुने निर्वाचनमा उनले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई टक्कर दिनुपर्नेछ ।
कोरोनाको महामारी, आर्थिक चुनौती र नागरिक अशान्ति लगायतका विषयलाई उनले मुख्य एजेण्डाको रुपमा अगाडी सार्नु हुने जनाइएको छ ।
पूर्व उपराष्ट्रपति समेत रहनु भएका बाइडेनले आफ्नो पार्टीबाट उम्मेदबारी दिने निर्णय शुक्रबार राती भएको हो ।
निर्णय भएपछि उनले भने , “हाम्रो पार्टीमा धेरै विद्धान तथा क्षमतावान उम्मेदवारहरु अरु धेरै हुदा हुदै पनि मलाई अवसर दिनुभएकोमा म सवैप्रति हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु ।”
उनले पार्टीको एकतासहित आफुहरु आउदो आम निर्वाचनमा जान लागेकोमा आफुलाई गौरब महसुस भएको पनि बताएका छन् ।
आफ्नो पार्टीबाट सहजै उम्मेदबार बन्न पाउने अवस्था आउनु उनका लागि सफल पक्ष भएको राजनीतिज्ञहरुले बताएका छन् ।
उनको पार्टीबाटै राष्ट्रपतिका लागि उम्मेदबार बन्न चाहेका कतिपय उम्मेदबारहरुले आफ्नो उम्मेदवारी अभियानलाई स्थगित गरेको घोषणा यसअघि नै गरिसकेका छन् ।
डेमोक्रयाटिक पार्टीबाटै उम्मेदबार बन्न खोजेका बेर्नी सन्डेर्सले गत अप्रिलमै चुनावी अभियानबाट आफू पछाडी हटेको घोषणा गरेका छन् ।
बाइडेनसँग अहिले एक हजार ९९५ जना डेलिगेडट्स रहेका छन् भने उनले चुनावी प्रचार प्रसारलाई अव झन सशक्त बनाउने बताएका छन् ।
तत्कालिन राष्ट्रपति बाराक ओबामाको कार्यकालमा उपराष्ट्रपति भएकाले उनलाई अमेरिकामा अहिले पनि निकै लोकप्रिय मानिनले ओबामाको ठूलो सहयोग हुने देखिएको छ ।
पछिल्लो समय बाइडेनलाई उम्मेदबार बनाउन पनि ओबामाले महत्वपूर्ण भूमिका खेलेको बताइएको छ ।
उनले आगामी चुनावी अभियानलाई थप प्रभावकारी बनाउने र नेतृत्वदायी भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
बर्तमान राष्ट्रपति ट्रम्पले ओबामालाई लगातार अभिव्यक्ति मार्फत् आक्रमण गरिरहने गरेकाले पनि ट्रम्पलाई हराउन ओबामा सक्रिय हुने अनुमान गरिएको छ ।
ओबामाको समर्थनका कारण बाइडेनलाई अस्वेत मतदाताहरुको थप सहयोग हुने विश्लेषण गरिएको छ ।