काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्रीलगायत कतिपय ठूला नेताले आफ्नो तलब पूरै त्याग्ने घोषणा गर्नु राम्रो भएपनि विलासी रहनसहन कसरी चल्छ भन्ने पनि बताउँदा राम्रो हुने जनाएका छन् ।
सामाजिक सञ्जाल ट्विटरमा उनले भनेका छन्, “प्रमलगायत कतिपय बढे नेताहरुले आफ्नो तलब–भत्ता पूरै त्याग्ने घोषणा गर्नु राम्रो हो । त्यससँगै आफ्नो कुनै पैतृक सम्पत्ति, बचत र वैध कमाइ नहुनेहरु (कमसेकम संसद–सरकारलाई बुझाएको सम्पत्ति विवरणमा नदेखिने !)को विलासी रहनसहन र चुनावको खर्च कसरी चल्छ त्यो पनि बताउँदा राम्रो होला कि ?”
प्रम लगायत कतिपय बड़े नेताहरूले आफ्नो दृश्य तलब/भत्ता पूरै त्याग्ने घोषणा गर्नु राम्रो हो।त्यससंगै आफ्नो कुनै पैतृक सम्पत्ति,बचत र वैध कमाइ नहुनेहरू( कमसेकम संसद/सरकारलाई बुझाएको सम्पत्ति विवरणमा नदेखिने!)को विलासी रहनसहन र चुनावको खर्च कसरी चल्छ त्यो पनि बताउँदा राम्रो होला कि?
— Baburam Bhattarai (@brb1954) April 14, 2020
जनस्तरबाट पनि राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र निर्वाचन क्षेत्र विकास कोषबाट रकम काटेर कोरोना रोकथाम तथा नियन्त्रणमा लगाउनु पर्ने आवाज उठ्दै आएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार नयाँ वर्षको अवसरमा देशवासीलाई सम्बोधन गर्दै कोरोना भाइरसको महामारी अन्त्य नभएसम्म पारिश्रमिक नलिने बताएका थिए । आफूलेे पाउने पारिश्रमिक कोरोना रोकथाम तथा नियन्त्रणका लागि बनाइएको प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने घोषणा ओलीले गरेका थिए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले दुई महिनाको तलब, उपराष्ट्रपति नन्दबहादुर पुनले एक महिनाको तलब, मन्त्रीहरुले एक महिनाको तलब र सांसदहरुले १५ दिनको कोरोना कोषमा जम्मा गर्ने घोषणा यसअघि नै गरिसकेका छन् ।
सोमबार नै नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ (प्रकाश)ले पनि पारिश्रमिक नलिने घोषणा गरेका थिए । उनले सोमबार आफ्नो एक वर्षको पारिश्रमिकमध्ये दुई महिनाको तलब कोरोना उपचार तथा राहत कोषमा र बाँकी १० महिनाको तलब विपन्न वर्ग केन्दि्रत आर्थिक राहत प्याकेजका लागि दिने घोषणा गरेका हुन् ।