
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९)को महामारी समाप्त नभएसम्म पारिश्रमिक नलिने घोषणा गर्नुभएको छ । नयाँ वर्ष २०७७ को अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले उक्त घोषणा गर्नुभएको हो ।
मुलुक प्रगतिमा रहेको बेला हुने उपलब्धिको न्यायोचित वितरण र अप्ठ्यारोमा हुने क्षतिको सह–भारबहन हामी सबैले नै मिलेर गर्नुपर्ने बताउँदै उहाँले भन्नुभयो- “आवश्यक पर्दा हुनेको गास काटेर, नहुनेलाई बचाउने त हाम्रो परम्परा पनि हो । मुलुकको कार्यकारी प्रमुखका हैसियतले कोरोना महामारी समाप्त नभएसम्म मैले आफ्नो पारिश्रमिक ‘कोभिड–१९, प्रधानमन्त्री राहत कोष’मा जम्मा गर्ने निर्णय गरेको छु ।”
कारोना भाइरसविरुद्धको लडाइँ सबैको भएको पनि उहाँले बताउनु भएको छ । “मैले पटकपटक भन्दै आएको छु, यो युद्ध सबैको बलियो एकतामा जितिने युद्ध हो ,” उहाँले भन्नुभयाे, “विश्वव्यापी यस संकटको समाधान विश्वव्यापी प्रयास, साझेदारी र सहयोगबाट मात्र सम्भव छ । देश भित्रको संकट व्यवस्थापनमा एकताबद्ध राष्ट्रिय प्रयास सर्वोपरि रहनुपर्छ ।”
उहाँले कोरोना भाइरसबाट प्रभावित हुने सबै वर्ग र क्षेत्रका नागरिकको अभिभावकत्व सरकारले लिने पनि बताउनु भएको छ । ” सबैभन्दा पहिले जनतालाई महामारीबाट उम्काइने छ, सँगसँगै रोजीरोटीको जोहो गरिने छ,” उहाँले भन्नुभयाे ।
चिकित्सक तथा स्वास्थ्यकर्मीहरु र नागरिक सुरक्षामा अहोरात्र खट्ने सुरक्षाकर्मी जस्ता यस युद्धको अग्रपङ्क्तिका योद्धाहरु भएको र उनीहरुलाई सुरक्षामा कुनै कमी हुन नदिइने पनि उहाँले बताउनुभयो ।
विदेशमा रहेका नेपालीहरुप्रति संवेदनशील भएको पनि उहाँले बताउनुभयो । “विश्वव्यापी सङ्कटको घडीमा आधारभूत सुविधा र उपचार सेवाबाट बञ्चित हुन नपरोस् भनेर सरकारले विभिन्न तहमा सम्बन्धित देशका राष्ट्राध्यक्ष, सरकार प्रमुख र विदेशमन्त्रीहरुसँग निरन्तर संवाद गरिरहेको छ,” उहाँले भन्नुभयो ।
यो संटकको घडिमा सिङ्गो राष्ट्र एकताबद्ध भएको उहाँको भनाई छ । “सङ्कटको यस बेलामा सिङ्गो राष्ट्र एकताबद्ध छ । सबै राजनीतिक दलहरुबाट प्राप्त साथ, समर्थन तथा उहाँहरुबाट प्राप्त रचनात्मक सुझावले सरकारलाई अझ उर्जा थपिदिएको छ,” उहाँले भन्नुभएको छ ।
जनताबाट निर्वाचित सरकार नै सङ्कटको सामना गर्ने नेतृत्वदायी संस्था भएको र तीनै तहका सरकारहरुले सम्बद्ध सबैका सुझावहरुलाई ध्यानमा राख्दै यस असामान्य अवस्थाको प्रभावकारी ढंगले सामना गर्ने विश्वास समेत दिलाउनुभयाे ।