काठमाडौं । कर्णाली प्रदेशमा दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता चलिरहँदा नेपाली खेलकुदको सबैभन्दा ठूलो महोत्सवको इतिहास साढे चार दशक लामो भइसकेको छ। २०३८ सालमा काठमाडौंमा पहिलो संस्करण आयोजना भएसँगै नेपालमा राष्ट्रियस्तरको बृहत् खेलकुद प्रतियोगिताको परम्परा सुरु भएको थियो। यो परम्पराको जग बसाल्ने व्यक्तित्व हुन्, तत्कालीन राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव शरदचन्द्र शाह।
राष्ट्रिय खेलकुदजस्तो ठूलो प्रतियोगिता नेपालमा आयोजना गर्न सकिन्छ र गर्नुपर्छ भन्ने सोच अघि सार्ने शाहलाई नेपाली खेलकुदको विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने व्यक्तिका रूपमा सम्झनुपर्छ। उनी २०३४ सालमा राखेपको सदस्यसचिव नियुक्त भएका थिए। २०४५ सालसम्म ११ वर्ष पदमा रहँदा उनले नेपाली खेलकुदको विकास र विस्तारका लागि विभिन्न प्रयास गरेका थिए।
शाह विवादरहित व्यक्तित्व भने थिएनन्। उनको कार्यकाल र भूमिकालाई लिएर आलोचना पनि हुने गरेको छ। तर, नेपाली खेलकुदमा राष्ट्रिय खेलकुद र दक्षिण एसियाली खेलकुदजस्ता बृहत् प्रतियोगिताको सुरुआतमा उनले खेलेको भूमिका भने महत्त्वपूर्ण छ।
राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने अवधारणालाई मूर्तरूप दिनु उनको एउटा प्रमुख उपलब्धि थियो। पहिलो संस्करण २०३८ सालमा काठमाडौंमा आयोजना भयो भने दोस्रो संस्करण २०४० सालमा सम्पन्न भयो। यी प्रतियोगिताले नेपाललाई दक्षिण एसियाली स्तरको ठूलो खेलकुद महोत्सव आयोजना गर्ने आधारसमेत तयार पारे।
शाहकै पहलमा सन् १९८४ (२०४१ साल) मा नेपालले पहिलो दक्षिण एसियाली महासंघीय खेलकुद आयोजना गरेको थियो। अहिले दक्षिण एसियाली खेलकुद (साग) का रूपमा परिचित प्रतियोगिता सुरु गराउने सोच उनैले अघि सारेका थिए। सुरुमा यसको आयोजना गर्ने जिम्मेवारी बंगलादेशको भए पनि उसले आयोजना गर्न नसकेपछि नेपालले जिम्मेवारी लिएको थियो। त्यसअघि सम्पन्न दुई संस्करणका राष्ट्रिय खेलकुदले प्रतियोगिता सञ्चालनको अनुभव र तयारीमा महत्त्वपूर्ण भूमिका खेलेका थिए।
त्यसअघि २०३१ सालमा राजा वीरेन्द्रको राज्याभिषेकका अवसरमा नेपालमा पहिलोपटक ठूलो स्तरमा खेलकुद प्रतियोगिता आयोजना भएको थियो। त्यस क्रममा १२ खेलका प्रतिस्पर्धा भए पनि ती फरकफरक स्थानमा सञ्चालन गरिएका थिए। तर, २०३८ सालको पहिलो राष्ट्रिय खेलकुद भने काठमाडौंमा एकै स्थानमा धेरै खेल समेटेर आयोजना गरिएको पहिलो बृहत् प्रतियोगिता थियो।
शाहले एकै समय र स्थानमा धेरै खेल समेटेर ठूलो प्रतियोगिता आयोजना गर्ने प्रस्ताव अघि सार्दा त्यसलाई सम्भव नठान्नेहरू पनि थिए। तर, उनले त्यो अवधारणालाई व्यवहारमा उतारे। त्यसैले काठमाडौंबाट सुरु भएको राष्ट्रिय खेलकुदको यात्रा दसौं संस्करणसम्म आइपुग्दा यसको परिकल्पना र सुरुआत गर्ने व्यक्तित्वलाई सम्झनु नेपाली खेलकुदको इतिहासप्रतिको सम्मान पनि हो।