काठमाडौँ– विश्वभर हरेक वर्ष करिब एक करोड २० लाख बालिकाको १८ वर्ष उमेर नपुग्दै विवाह हुने गरेको तथ्य सार्वजनिक गर्दै संयुक्त राष्ट्रसङ्घले बालविवाह तथा जबर्जस्ती विवाह अन्त्यका लागि प्रभावकारी कदम चाल्न विश्व समुदायसँग आह्वान गरेको छ।
बालविवाह, कम उमेर तथा जबर्जस्ती विवाह अन्त्यका लागि अन्तर्राष्ट्रिय दिवसका अवसरमा राष्ट्रसङ्घले यस्तो आग्रह गरेको हो। राष्ट्रसङ्घीय महासभाले गत सेप्टेम्बर ४ मा प्रस्ताव पारित गरी प्रत्येक वर्ष नोभेम्बर २७ लाई यस दिवसका रूपमा मनाउने निर्णय गरेको थियो। यस वर्ष पहिलोपटक यो दिवस मनाउन लागिएको हो।
राष्ट्रसङ्घका अनुसार सन् २०२६ सम्म विश्वमा जीवित रहेका करिब ६५ करोड महिला तथा बालिकाको विवाह १८ वर्ष उमेर नपुग्दै भएको थियो। विश्वभर प्रत्येक पाँच बालिकामध्ये एक जनाको बाल्यकालमै विवाह हुने गरेको छ भने प्रत्येक तीन सेकेन्डमा एक बालिका बालविवाहको सिकार हुने गरेका छन्।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले बालविवाहका कारण लाखौँ बालिकाको शिक्षा, स्वास्थ्य र सुरक्षामा गम्भीर असर परेको बताएका छन्। गत अक्टोबर ११ मा अन्तर्राष्ट्रिय बालिका दिवसका अवसरमा जारी सन्देशमा उनले गरिबीलाई बालविवाहको प्रमुख कारणका रूपमा औँल्याउँदै द्वन्द्व, जलवायुजन्य विपद् र विस्थापनका अवस्थामा यसको जोखिम थप बढ्ने उल्लेख गरेका थिए।
उनका अनुसार बालिकालाई विद्यालयमा निरन्तरता दिन प्रोत्साहित गर्ने, परिवारको आर्थिक अवसर विस्तार गर्ने, सामाजिक तथा कानुनी संरक्षण सुदृढ बनाउने र विभेदकारी लैङ्गिक मान्यता अन्त्य गर्ने हो भने बालविवाह न्यूनीकरण गर्न सकिन्छ।
महासचिव गुटेरेसले पछिल्लो २५ वर्षमा शिक्षा, सामाजिक संरक्षण र कानुनी सुधारका माध्यमबाट अनुमानित छ करोड ८० लाख बालविवाह रोक्न सफलता मिलेको बताएका छन्। यद्यपि, अहिलेको प्रगतिको गति कायम रहे बालविवाह पूर्ण रूपमा अन्त्य गर्न अझै शताब्दीयौँ लाग्ने उनको चेतावनी छ।
त्यस्तै, संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) का उपकार्यकारी निर्देशक टेड चाइबानले सन् २०३० सम्म बालविवाह अन्त्य गर्ने लक्ष्य हासिल गर्न हाल भइरहेका प्रयासको गति २० गुणाले बढाउनुपर्ने बताएका छन्।
बालविवाह मानवअधिकारको गम्भीर उल्लङ्घन भएको उल्लेख गर्दै उनले विवाहको न्यूनतम उमेर १८ वर्ष तोक्ने कानुनी व्यवस्था, त्यसको प्रभावकारी कार्यान्वयन तथा न्याय र संरक्षण सेवामा सबैको पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन्।
विवाह भइसकेका, गर्भवती तथा सन्तान भएका किशोरीलाई समेत शिक्षा निरन्तरता दिन वा पुनः विद्यालय फर्कन आवश्यक सहयोग उपलब्ध गराउनुपर्ने राष्ट्रसङ्घको भनाइ छ। साथै, बालिकालाई आफ्नो जीवनसँग सम्बन्धित निर्णय प्रक्रियामा सहभागी गराउनुपर्नेमा पनि जोड दिइएको छ।
राष्ट्रसङ्घका अनुसार बालविवाहको सबैभन्दा ठूलो भार दक्षिण एसियाले बेहोर्दै आएको छ। विश्वभर बालविवाहमा परेका महिला तथा बालिकामध्ये ४४ प्रतिशत अर्थात् करिब २८ करोड ५० लाख यस क्षेत्रका छन्। त्यस्तै, उपसहारा अफ्रिकामा १८ प्रतिशत अर्थात् करिब ११ करोड ५० लाख महिला तथा बालिका बालविवाहमा परेका छन्।
पछिल्लो एक दशकमा विश्वव्यापी बालविवाहको दर १५ प्रतिशतले घटेको छ। यसअघि १८ वर्ष नपुग्दै विवाह हुने महिला तथा बालिकाको अनुपात २५ प्रतिशत रहेकामा अहिले घटेर करिब २१ प्रतिशतमा झरेको छ। यस अवधिमा करिब दुई करोड ५० लाख बालविवाह रोक्न सफल भएको राष्ट्रसङ्घले जनाएको छ।
बालविवाहले बालिकाको शिक्षामा अवरोध पुर्याउनुका साथै आर्थिक आत्मनिर्भरता र व्यक्तिगत स्वतन्त्रतामा समेत असर पार्ने गरेको छ। यसले किशोरावस्थामै गर्भधारण, मातृस्वास्थ्यसम्बन्धी जटिलता, लैङ्गिक हिंसा र यौन शोषणको जोखिमसमेत बढाउने राष्ट्रसङ्घले जनाएको छ।
दिगो विकास लक्ष्यको लक्ष्य नम्बर ५.३ ले सन् २०३० सम्म बालविवाह, कम उमेर तथा जबर्जस्ती विवाहलगायत सबै हानिकारक प्रथा अन्त्य गर्ने लक्ष्य राखेको छ। तर, हालको प्रगतिको गति कायम रहे बालविवाह पूर्ण रूपमा अन्त्य गर्न अझै करिब ३०० वर्ष लाग्न सक्ने राष्ट्रसङ्घले चेतावनी दिएको छ।
बालविवाह अन्त्यका लागि कानुनी सुधार मात्रै पर्याप्त नहुने भन्दै राष्ट्रसङ्घले बालिकाको गुणस्तरीय शिक्षामा पहुँच विस्तार, सामाजिक सुरक्षा र आर्थिक अवसर सुनिश्चित गर्न विश्व समुदायलाई आग्रह गरेको छ।