काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज (शुक्रबार) पनि बस्ने भएको छ।
ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ८ः३० बजे बैठक बस्न लागेको हो।
मङ्सिर ८ गतेदेखि सुरु भएको बैठकमा हालसम्म ७० जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखिसकेका छन्। सदस्यहरूले बोल्ने क्रम जारी रहेकाले आज पनि बैठकलाई निरन्तरता दिन लागिएको कांग्रेसले जनाएको छ।
यसअघि बिहीबार बसेको बैठकले होल्डिङ सेन्टरमा राखिएका सुकुमवासीलाई हटाउने सरकारको निर्णयप्रति गम्भीर आपत्ति जनाएको थियो। कांग्रेसले वैकल्पिक आवासको व्यवस्था सुनिश्चित नगरी सुकुमवासी परिवारलाई होल्डिङ सेन्टरबाट हटाउन नहुने भन्दै सरकारको निर्णय फिर्ता लिन माग गरेको थियो।
सरकारको उक्त निर्णय संविधानप्रदत्त आवासको हक, प्रचलित कानुनी व्यवस्था र सामाजिक न्यायको मर्मविपरीत रहेको कांग्रेसको ठहर छ।