झापा– झापा कारागारमा निर्धारित क्षमताभन्दा दोब्बरभन्दा बढी कैदीबन्दी राखिएका छन् । पुरानो भवन र साँघुरा कोठाका कारण कैदीबन्दीले कठिन अवस्थामा जीवन बिताउनुपरेको छ ।
कारागार प्रमुख पूर्णबहादुर खत्रीका अनुसार हाल कारागारमा कैदी र थुनुवा गरी एक हजार ७१० जना छन् । तीमध्ये ९२९ जना कैदी र ७८१ जना थुनुवा रहेका छन् । लैङ्गिक आधारमा एक हजार ६२६ जना पुरुष र ८४ जना महिला छन् ।
कारागारमा ६५ वर्षमाथिका २४ जना ज्येष्ठ नागरिक, एक गर्भवती महिला र एक आश्रित नाबालकसमेत रहेका छन् । महिला र पुरुषका लागि छुट्टाछुट्टै भवनको व्यवस्था गरिएको छ । त्यस्तै, कारागारमा १९ जोडी विवाहित कैदीबन्दी पनि छन् ।
कारागार प्रशासनका अनुसार राष्ट्रियताका आधारमा १२२ जना भारतीय र २९ जना भुटानी नागरिकले कैद तथा थुनुवा जीवन बिताइरहेका छन् ।
लागूऔषधसम्बन्धी मुद्दाका कैदीबन्दी धेरै
झापा कारागारमा रहेका कैदीबन्दीमध्ये सबैभन्दा ठूलो संख्या लागूऔषधसम्बन्धी कसुरमा संलग्न रहेको आरोपमा पक्राउ परेका तथा दोषी ठहर भएकाहरूको छ । कारागार प्रमुख खत्रीका अनुसार लागूऔषधसम्बन्धी मुद्दामा ५६ महिलासहित ८५० जना रहेका छन् । तीमध्ये ७९४ जना पुरुष हुन् ।
त्यस्तै, जबर्जस्ती करणीसम्बन्धी मुद्दामा एक महिलासहित ३५९ जना, कर्तव्य ज्यान मुद्दामा नौ महिलासहित ११४ जना र चोरी मुद्दामा एक महिलासहित १३५ जना रहेका छन् ।
ठगीसम्बन्धी मुद्दामा एक महिलासहित १६ जना र अभद्र व्यवहारसम्बन्धी मुद्दामा एक महिलासहित १३ जना छन् । बाँकी कैदीबन्दी अन्य विभिन्न मुद्दामा रहेका छन् ।
कलबलगुढीमा नयाँ कारागार बनाउने तयारी
पुरानो भवन र साँघुरो क्षेत्रफलका कारण कैदीबन्दी व्यवस्थापनमा समस्या भएपछि भद्रपुर नगरपालिका–१० स्थित कलबलगुढीमा नयाँ कारागार निर्माण गर्ने तयारी गरिएको छ ।
कोशी प्रदेश प्रशिक्षण केन्द्रसँग जोडिएको १० बिघा जग्गा नयाँ कारागार निर्माणका लागि व्यवस्थापन गरिएको छ । नयाँ संरचना निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने प्रक्रिया पनि अघि बढाइएको जनाइएको छ ।
विसं २०२० मा निर्माण भएको हालको कारागार भवन सुरुमा अधिकतम ३५० जना कैदीबन्दी राख्न सक्ने क्षमताको थियो । पछि आन्तरिक संरचना थपेर यसको क्षमता ७५० पुर्याइएको थियो । तर, हाल क्षमताभन्दा ९६० जना बढी कैदीबन्दी राख्नुपर्दा व्यवस्थापनमा चुनौती थपिएको छ ।