काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज (बुधबार) पनि बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजे बैठक सुरु हुने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् ।
सभापति गगनकुमार थापाको अध्यक्षतामा मंगलबारदेखि सुरु भएको बैठकमा सभापति थापाले समसामयिक राजनीतिक अवस्था र पार्टीको धारणाबारे आफ्नो विचार राखेका थिए । यस्तै, महामन्त्री प्रदीप पौडेलले बैठकमा प्रस्तावित कार्यसूची प्रस्तुत गरेका थिए ।
आजको बैठकमा महामन्त्री पौडेलले प्रस्तुत गरेको कार्यसूचीमाथि छलफल हुने जनाइएको छ । कार्यसूचीमा संगठनको आगामी कार्यभार, विपद्पछिको पुनःस्थापना तथा पुनर्निर्माण, विस्थापित सुकुमवासीको व्यवस्थापन र आगामी स्थानीय निर्वाचनलगायत विषय समेटिएका छन् ।
संगठनको आगामी कार्यभारअन्तर्गत ‘हामी तयार छौँ’ अभियान सञ्चालन, भोटेकोशी र बूढीगण्डकी क्षेत्रमा विपद्पछिको पुनःस्थापना तथा पुनर्निर्माणका विषयमा छलफल हुनेछ ।
त्यसैगरी, सरकारका पछिल्ला गतिविधि, आगामी स्थानीय निर्वाचनको तयारी तथा नागरिक सरोकारका विभिन्न विषयमा पनि बैठकमा छलफल हुने कार्यसूची रहेको छ । बैठकमा अन्य विविध विषयसमेत उठाइने बताइएको छ ।