काठमाडौं । दसौँ राष्ट्रिय खेलकुद मंगलबारदेखि अनौपचारिक रूपमा सुरु हुँदै छ। प्रतियोगिताको औपचारिक उद्घाटन मंसिर १६ मा हुनेछ। ओलम्पिक र एसियाली खेलकुदमा जस्तै उद्घाटनअघि नै केही खेलका प्रतिस्पर्धा हुन लागेका हुन्। सुरुवातमा १० खेलका प्रतिस्पर्धा हुनेछन् भने बाँकी २२ खेल सुरु भएपछि प्रतियोगिताले पूर्ण रौनकता पाउनेछ। यस संस्करणको सबैभन्दा ठूलो विशेषता भनेको कर्णाली प्रदेशमा आयोजना हुनु हो।
खेलकुदका दृष्टिले कर्णालीलाई तुलनात्मक रूपमा पछाडि परेको प्रदेश मानिन्छ। सभ्यताको उद्गमस्थल भए पनि विकासको गति समाउन कर्णालीलाई समय लागेको छ। तर वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशाला पुग्दा त्यहाँको भौतिक पूर्वाधारले भने फरक सन्देश दिन्छ। आधुनिक, बहुउपयोगी, सुविधासम्पन्न र आकर्षक रंगशालाले कर्णालीको खेलकुद विकासको सम्भावना देखाएको छ।
यसै पृष्ठभूमिमा दसौँ राष्ट्रिय खेलकुदको सफल आयोजनाका लागि सबै खेलप्रेमीले शुभकामना दिनु आवश्यक छ। राष्ट्रिय खेलकुदको आफ्नै महत्त्व छ। यसको आयोजना गर्ने अवधारणा ओलम्पिक र एसियाली खेलकुदसँग पनि मिल्दोजुल्दो छ। त्यसैले कर्णालीले राष्ट्रिय खेलकुद आयोजना गर्ने अवसर पाउनु आफैँमा ऐतिहासिक उपलब्धि हो।
दसौँ राष्ट्रिय खेलकुद कर्णालीलाई आफ्नो क्षमता प्रमाणित गर्ने अवसर पनि हो। यसले प्रदेशको पहिचान र छवि बदल्न सघाउन सक्छ। पछिल्लो समय खेलकुदका भौतिक पूर्वाधारमा गरेको लगानीको सदुपयोग गर्दै कर्णालीले आगामी दिनमा घरेलु खेलकुदमा बलियो प्रतिस्पर्धीका रूपमा आफूलाई स्थापित गर्न सक्नुपर्छ।
प्रतियोगितामा ३ सय ८४ स्वर्णसहित कुल १ हजार ३ सय ३७ पदकका लागि प्रतिस्पर्धा हुनेछ। मंसिर २७ सम्म सञ्चालन हुने प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टोली र गैरआवासीय नेपाली संघ (एनआरएन) गरी ११ टोली सहभागी हुनेछन्। यस अवधिमा कर्णालीले देशभरबाट आउने खेलाडी, प्रशिक्षक, पदाधिकारी र पत्रकारको आतिथ्य गर्नेछ।
यद्यपि, प्रतियोगिता सुरु हुनै लाग्दा पनि केही भौतिक पूर्वाधार निर्माणाधीन रहेको समाचार आइरहेका छन्। आर्थिक दायित्व पूरा नभएको आरोप पनि लागेको छ। विशेषगरी प्रतियोगितामा सहभागी पाहुनाका लागि पर्याप्त सुविधा उपलब्ध गराउन नसकिने हो कि भन्ने चिन्ता छ। अबको दुई साताभन्दा बढी समय कर्णाली प्रदेश र आयोजकले यी जिम्मेवारी कसरी पूरा गर्छन्, त्यो महत्त्वपूर्ण हुनेछ।
यति ठूलो प्रतियोगिता आयोजना गर्नु कर्णालीका लागि अवसर मात्र होइन, चुनौती पनि हो। यससँग धेरै अपेक्षा जोडिएका छन्। तर प्रतियोगिता सुरु हुनै लाग्दा यी चुनौती र अपेक्षाको बहसलाई थाती राखेर खेलमा केन्द्रित हुनु आवश्यक छ। त्यसैले फेरि एकपटक दसौँ राष्ट्रिय खेलकुदको सफलताको कामना गरौँ। यसले नेपाली खेलकुदको विकासमा महत्त्वपूर्ण योगदान पुर्याउन सकोस्।