काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तह र प्रदेशको निर्वाचन संविधान तथा कानुनले सुनिश्चित गरेको पाँचवर्षे कार्यकाललाई आधार मानेर गर्नुपर्ने बताएका छन् ।
शुक्रबार निर्वाचन आयोगले राजनीतिक दलहरूसँग गरेको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै दाहालले स्थानीय तह र प्रदेशको निर्वाचन एकैपटक गर्ने वा छुट्टाछुट्टै गर्ने भन्ने विषयमा दलहरूबीच थप छलफल आवश्यक रहेको बताए । यसबारे अर्को बैठकमा छलफल गरी निष्कर्षमा पुग्ने सहमति भएको उनले जानकारी दिए ।
विगतमा संघ र प्रदेशको निर्वाचन एकैपटक तथा छुट्टाछुट्टै दुवै तरिकाले सम्पन्न भइसकेको उल्लेख गर्दै दाहालले निर्वाचनको मिति निर्धारण गर्दा संविधान र कानुनले सुनिश्चित गरेको पाँचवर्षे कार्यकाललाई आधार बनाउनुपर्ने धारणा राखे ।
उनले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित गर्ने विषयमा पनि निर्वाचन आयोग र राजनीतिक दलहरूबीच सकारात्मक छलफल भएको बताए । संविधान निर्माणकै क्रममा विदेशमा रहेका नेपालीको मतदान अधिकारको विषय उठेको र सर्वोच्च अदालतले समेत त्यसका लागि आवश्यक व्यवस्था गर्न आदेश दिइसकेको स्मरण गराउँदै उनले मतदानमा सहभागी गराउन आवश्यक प्राविधिक तथा अन्य तयारीबारे छलफल भएको जानकारी दिए ।
दाहालले निर्वाचन लोकतन्त्र र संविधानको सुदृढीकरणका लागि अनिवार्य भएकाले यसको वातावरण निर्माणमा सबै राजनीतिक दलले जिम्मेवार भूमिका खेल्नुपर्ने बताए । अघिल्लो निर्वाचन असहज परिस्थितिमा सम्पन्न गर्नुपरे पनि लोकतन्त्रको विकल्प निर्वाचन नै भएको उल्लेख गर्दै उनले देशभर निर्वाचनको वातावरण बनाउन आफूले भूमिका खेलेको दाबी गरे ।
निर्वाचन आयोगले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग सकारात्मक वातावरणमा छलफल गरेको उल्लेख गर्दै दाहालले केही विषयमा समझदारी बने पनि अन्य विषयमा दलभित्र र अन्तरदल थप छलफल आवश्यक रहेको बताए ।