काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी स्थानीय तह निर्वाचनमा विपक्षीलाई पराजित मात्र होइन, ‘धोबीपाठ’ पछार्ने गरी तयारीमा जुट्न जनप्रतिनिधिहरूलाई निर्देशन दिएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित एमालेको राष्ट्रिय जनप्रतिनिधि भेलालाई सम्बोधन गर्दै ओलीले आगामी निर्वाचनमा जित सुनिश्चित हुने गरी कार्यसम्पादन गर्न जनप्रतिनिधिहरूलाई आग्रह गरे । उनले विगतमा विभिन्न कारणले जनतासँग टुटेको सम्बन्ध पुनः जोड्नुपर्नेमा जोड दिए ।
‘यसपटकको निर्वाचनमा हामीले पछार्ने मात्रै होइन, धोबीपाठ पछार्नुपर्छ,’ उनले भने, ‘त्यो तयारी र आत्मविश्वासका साथ गाउँमा जाऔँ । जनतासँग टुटेको सम्बन्धलाई फेरि जोडौँ, सम्बन्ध विकास गरौँ ।’
ओलीले संविधानमा व्यवस्था भएअनुसार नै निर्वाचन हुनुपर्ने बताउँदै स्थानीय तहको निर्वाचन आगामी वैशाख अन्तिममा र प्रदेश तहको निर्वाचन मंसिरमा हुनुपर्ने धारणा राखे । सोही कार्यतालिकाअनुसार निर्वाचनको तयारीमा जुट्न उनले नेता–कार्यकर्तालाई निर्देशन दिए ।
निर्वाचनलाई निष्पक्ष, पारदर्शी र धाँधलीरहित बनाउन जनतालाई समेत साथमा लिएर अघि बढ्नुपर्ने उनको भनाइ थियो ।