काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आगामी हिउँदयाममा भारतबाट ३५० मेगावाट विद्युत् आयात गर्न अनुमति पाएको छ।
भारतको केन्द्रीय विद्युत् प्राधिकरणले भारतीय ऊर्जा विनिमय बजार (आईईएक्स) को डे-अहेड र रियल टाइम बजारबाट प्रतिस्पर्धी दरमा दैनिक १७ घण्टासम्म विद्युत् आयात गर्न अनुमति दिएको हो। प्राधिकरणले १ मंसिर २०८३ देखि १५ साउन २०८४ सम्म विद्युत् आयात गर्न पाउनेछ।
अनुमतिअनुसार बिहान ५ देखि ८ र साँझ ५ देखि ९ बजेसम्मबाहेक अन्य समयमा विद्युत् आयात गर्न सकिनेछ। कटैया–कुशाहा, रामनगर–सुरजपुरा र रक्सौल–परवानीपुर १३२ केभी प्रसारण लाइनबाट ३०० मेगावाट तथा न्यू नौतनिया–मैनहिया प्रसारण लाइनबाट ५० मेगावाट विद्युत् आयात गर्न अनुमति प्राप्त भएको हो।
प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले आयातको अनुमति प्राप्त भएकाले आगामी हिउँदयाममा विद्युत्को माग र आपूर्ति व्यवस्थापन सहज हुने बताए। रसुवास्थित भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको हिमबाढीले जलविद्युत् आयोजना र प्रसारण लाइनमा क्षति पुर्याउँदा ४३१ मेगावाट जडित क्षमताका आयोजना राष्ट्रिय विद्युत् प्रणालीबाट विच्छेद भएकाले त्यसलाई समेत ध्यानमा राखेर तयारी गरिएको उनले बताए।
प्राधिकरणको प्रक्षेपणअनुसार गत वर्षको माग र उत्पादनको अवस्थाका आधारमा यस वर्ष पुसदेखि चैतसम्म आन्तरिक उत्पादनभन्दा विद्युत्को माग बढी हुनेछ। त्यसैले उक्त अवधिमा भारतबाट विद्युत् आयात गर्नुपर्नेछ। विशेषगरी माघ र फागुनमा दैनिक औसत ४५० देखि ५०० मेगावाट विद्युत् आयात गर्नुपर्ने अनुमान छ। उच्च माग हुने समयमा भने आयातको परिमाण ८०० देखि ९०० मेगावाटसम्म पुग्न सक्ने प्राधिकरणको आकलन छ।
पुस र चैतमा तुलनात्मक रूपमा कम विद्युत् आयात गरे पुग्ने अनुमान छ। वैशाखदेखि नदीमा पानीको बहाव बढेर आन्तरिक उत्पादन वृद्धि हुने भएकाले आयात क्रमशः घटाउँदै निर्यात सुरु गर्ने प्राधिकरणको अपेक्षा छ।
यसैबीच, प्राधिकरणले तीन जलविद्युत् आयोजनाबाट उत्पादित कुल ५६ मेगावाट विद्युत् भारतीय ऊर्जा विनिमय बजारमा बिक्री गर्न पनि अनुमति पाएको छ। उक्त विद्युत् पनि १ मंसिर २०८३ देखि १५ साउन २०८४ सम्म निर्यात गर्न सकिनेछ। यस व्यवस्थाले हिउँदयाममा आयात र उत्पादन बढ्ने समयमा निर्यात गरी विद्युत्को माग तथा आपूर्ति सन्तुलनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।