चन्दा क्षेत्री/काठमाडौं । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपीएल) को लगातार दोस्रो फाइनलमा पुर्याउन महत्त्वपूर्ण भूमिका खेलेका रुबेन ट्रम्पलम्यानले टोलीको सफलताको मुख्य आधार एकता र बलियो टिम कल्चर रहेको बताएका छन् ।
सुदूरपश्चिम रोयल्सलाई पहिलो क्वालिफायरमा ६ विकेटले पराजित गर्दै फाइनल पुगेपछि ट्रम्पलम्यानले गत सिजनको टोलीलाई निरन्तरता दिनु र अघिल्लो संस्करणमा देखिएका कमजोरी सुधार्नु यस सिजनको सफलताको आधार बनेको बताए ।
‘ठूला नाम भएका खेलाडी ल्याउँदैमा टोली बलियो हुन्छ भन्ने छैन । उनीहरू टोलीको संयोजनमा फिट नहुन सक्छन्,’ उनले भने, ‘सँगै समय बिताउनु, एकअर्कालाई राम्रोसँग चिन्नु र रमाइलो वातावरणमा रहनु हाम्रो शक्ति हो ।’
विदेशी खेलाडीको पुरानै समूहलाई निरन्तरता दिने निर्णयका लागि उनले टोली व्यवस्थापन र मालिकलाई श्रेय दिए । गत सिजन टोलीलाई फाइनलसम्म पुर्याउन र उपाधि जिताउन योगदान दिएका खेलाडीलाई कायम राख्नु सही निर्णय भएको उनको भनाइ छ ।
ट्रम्पलम्यानले पछिल्ला दुई सिजनमा लुम्बिनीले निरन्तर सुधार गर्दै आएको पनि बताए । टोलीमा निरन्तरता कायम रहनु र अघिल्लो सिजनका कमजोरी तथा रिक्तता पूरा गर्न सक्नुले बलिया प्रतिद्वन्द्वीसँग प्रतिस्पर्धा गर्ने क्षमता बढाएको उनले उल्लेख गरे ।
सुदूरपश्चिमविरुद्धको जितलाई महत्त्वपूर्ण मान्दै उनले प्रतिद्वन्द्वी टोली पनि बलियो रहेको बताए । ‘हामीले उनीहरूविरुद्ध केही राम्रो अग्रता बनाएका छौँ । तर उनीहरू पनि निकै बलिया छन् र प्रतियोगितामा जुनसुकै टोलीलाई हराउन सक्छन्,’ उनले भने । सुदूरपश्चिमलाई इलिमिनेटरका लागि शुभकामना दिँदै उनले फाइनलमा पुनः भेट हुने सम्भावना पनि व्यक्त गरे ।
सुदूरपश्चिमका जर्ज मुन्सेलाई सुरुमै आउट गर्न सफल भएको प्रसंगमा ट्रम्पलम्यानले उनी क्षमतावान् खेलाडी भएको बताए । आफूहरूले एकअर्काविरुद्ध धेरै पटक खेलेको उल्लेख गर्दै उनले मुन्से यसअघि उक्त मैदानमा नखेलेको पक्ष आफूलाई केही अनुकूल भएको बताए ।
‘उनीजस्तो क्षमतावान् खेलाडीविरुद्ध पहिलो बलदेखि नै सही लाइन र लेन्थमा बलिङ गर्नु आवश्यक हुन्छ,’ उनले भने, ‘उनलाई पहिलो बलमै पभेलियन फर्काउन सक्नु हाम्रो टोलीका लागि महत्त्वपूर्ण थियो ।’
आगामी खेलका लागि आफूले प्रशिक्षकसँग आवश्यक छलफल गरेको बताउँदै ट्रम्पलम्यानले आधारभूत पक्षमा ध्यान दिएर स्वाभाविक खेललाई निरन्तरता दिनुपर्ने उल्लेख गरे । फाइनलमा कुन टोलीसँग प्रतिस्पर्धा हुन्छ भन्ने अहिले नै भन्न नसकिने उनको भनाइ थियो ।