जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मधेसका जनताले दिएको जनमतअनुसार परिवर्तनको अनुभूति गराउन नसके आगामी निर्वाचनमा भोट माग्न नआउने बताएका छन्।
शनिबार छठ पर्व मनाउन जनकपुरधाम पुगेका लामिछानेले विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मधेसी जनताको आशा र विश्वासलाई निराशामा बदल्न नहुने बताए। जनताले दिएको अवसर व्यक्तिगत राजनीतिक स्वार्थका लागि नभई मधेसका जनताको जीवनमा परिवर्तन ल्याउनका लागि भएको उनको भनाइ थियो।
जनताको मतको सम्मान गर्दै उनीहरूको जीवनमा परिवर्तन ल्याउन नसके आगामी निर्वाचनमा अहिले प्राप्त समर्थन गुमाउन समय नलाग्ने उनले चेतावनी दिए। आफ्ना निकट व्यक्तिलाई टिकट दिने तर जनताको बस्तीमा परिवर्तनको अनुभूति गराउन नसक्ने हो भने जनताले त्यसको जवाफ दिने उनको भनाइ थियो। राजनीतिमा झूटो आश्वासन दिएर मत माग्ने प्रवृत्ति स्वीकार्य नहुने उल्लेख गर्दै उनले भने, ‘जति बोल्छौँ, त्यति नै गर्छौँ।’
यसैबीच, लामिछानेले रास्वपाभित्र सरकारका कामकारबाहीबारे हुने आलोचना, सुझाव र बहसलाई पार्टी विभाजनको संकेतका रूपमा नबुझ्न आग्रह गरे। आफ्नै सरकारका काममा देखिएका कमजोरीबारे पार्टीभित्र आलोचना र सुझाव आउनु आन्तरिक लोकतन्त्रको अभ्यास भएको उनले बताए। यस्ता विषयलाई पार्टीभित्रको विवादका रूपमा व्याख्या गर्ने गरिएको भन्दै उनले त्यसलाई स्वाभाविक लोकतान्त्रिक अभ्यासका रूपमा बुझ्न आग्रह गरे।
सरकारले आफ्ना प्रतिबद्धता पूरा गर्न काम गरिरहेको दाबी गर्दै लामिछानेले पार्टीका नेता तथा कार्यकर्तालाई उच्च राजनीतिक चरित्र प्रदर्शन गर्न पनि आग्रह गरे। रास्वपाले मधेससहित देशभरका जनताको आवाज सुन्ने उल्लेख गर्दै उनले जनताको विश्वास र जनमतको सम्मान गर्न पार्टी पङ्क्तिलाई आग्रह गरे।
छठ पर्वको सन्दर्भमा लामिछानेले सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको प्रसंग पनि उल्लेख गरे। अस्ताउँदो र उदाउँदो दुवै सूर्यको महत्त्व रहेको छठ पर्वका सबै पक्षलाई ध्यानमा राखेर बिदा दिने निर्णय गरिएको उनको भनाइ थियो।