ललितपुर । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जेन–जी आन्दोलनका क्रममा कांग्रेस र नेकपा एमालेका नेता तथा उनीहरूका निवासलाई योजनाबद्ध रूपमा निशाना बनाइएको आरोप लगाएका छन्। उनले आन्दोलनका क्रममा भएका आगजनीका घटनालाई षड्यन्त्रको संज्ञा दिए।
शनिबार नेपाली कांग्रेसको ललितपुर जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै देउवाले आफ्नो निवास, कृष्णप्रसाद भट्टराईको आश्रम र बीपी कोइरालाको पुख्र्यौली घरमा आगजनी गरिएको उल्लेख गरे। अन्य दलका नेताका निवासमा त्यस्ता घटना नभई कांग्रेस र एमालेका नेताहरूलाई मात्र छानीछानी निशाना बनाइएको उनको भनाइ थियो।
देउवाले आफू विद्यार्थी जीवनदेखि नै प्रजातन्त्रका लागि संघर्ष गर्दै आएको र साढे आठदेखि नौ वर्षसम्म जेल जीवन बिताएको स्मरण गरे। प्रजातन्त्र स्थापनाका लागि बीपी कोइरालालगायत नेताहरूले गरेको संघर्ष र योगदान बिर्सन नहुने उनले बताए।
कांग्रेसका लागि त्याग र योगदान गरेका नेता तथा कार्यकर्ताको इतिहास र सम्मानलाई पार्टीले सम्झनुपर्ने उल्लेख गर्दै देउवाले आफू पाँचपटक प्रधानमन्त्री बन्नुमा पनि जनताको माया, विश्वास र पार्टीका हजारौँ कार्यकर्ताको योगदान रहेको बताए।
‘मेचीदेखि महाकालीसम्मका नेपाली जनताको माया, विश्वास र सहयोगकै कारण म पाँचपटक प्रधानमन्त्री बन्ने अवसर पाएको हुँ,’ उनले भने।