काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रहरी संगठन अहिले दुई भागमा विभाजित भएको टिप्पणी गरेका छन्। उनले प्रहरी संगठनमाथि सरकारले अनावश्यक हस्तक्षेप गरिरहेको आरोपसमेत लगाए।
एमाले वाग्मती प्रदेश कमिटीको बैठकमा बोल्दै ओलीले प्रहरी संगठन सरकारबाट कुटाइ खाने र हेरेर बस्ने गरी दुई भागमा विभाजित भएको बताए। ‘एउटा मार खानेमा परेका छन्, अर्को हेरेर बस्नेमा,’ उनले भने।
सरकारको कार्यशैलीप्रति प्रहरीसँगै कर्मचारी, उद्यमी र व्यवसायीसमेत असन्तुष्ट रहेको ओलीको भनाइ थियो। सरकारले राजनीतिक पूर्वाग्रह राखेर काम गरिरहेको आरोप लगाउँदै उनले सरकार गठन भएकै दिन आफूलाई पक्राउ गरेर प्रतिशोध साँधिएको दाबी गरे।
आफ्नो गिरफ्तारीविरुद्ध शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका एमाले नेता तथा कार्यकर्तामाथि प्रहरीले बल प्रयोग गरेको उल्लेख गर्दै ओलीले प्रहरी संगठनको व्यवहारप्रति असन्तुष्टि जनाए। प्रहरीको सेवा, सुविधा, पोसाक र कार्य वातावरण सुधारमा एमाले नेतृत्वले योगदान गरेको दाबी गर्दै उनले प्रहरीको पछिल्लो व्यवहार आफूलाई आश्चर्यजनक लागेको बताए।
उनले उद्यमी तथा व्यवसायीमाथि सम्पत्ति शुद्धीकरणको अनुसन्धानका नाममा छानबिन अघि बढाइएको भन्दै सरकारको कार्यशैलीमाथि प्रश्न उठाए। यस क्रममा उनले इनम सापकोटाको प्रसंगसमेत उठाउँदै उनको सम्बन्ध र भूमिकाबारे प्रश्न गरे। सरकारले नै उनलाई बिचौलियाका रूपमा प्रयोग गरेको ओलीको आरोप थियो।