चन्दा क्षेत्री/काठमाडौं । श्रीलंकन अलराउन्डर चरिथ असालंकाले नेपाललाई सुन्दर देश र नेपाल प्रिमियर लिग (एनपीएल) लाई प्रतिस्पर्धात्मक प्रतियोगिताका रूपमा चित्रण गर्दै यसले नेपाली क्रिकेटको विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन् ।
नेपालमा दोस्रोपटक आउँदा निकै खुसी लागेको बताउँदै विराटनगर किङ्सका खेलाडी असालंकाले नेपाली क्रिकेटमा प्रतिभाशाली खेलाडीको कमी नरहेको उल्लेख गरे । यस्ता प्रतियोगितालाई निरन्तरता दिन सके नेपाली क्रिकेटलाई थप फाइदा पुग्ने उनको भनाइ थियो ।
लुम्बिनी लायन्ससँगको हारपछि पोस्टम्याचमा उनले नेपाली खेलाडीमा राम्रो सम्भावना भए पनि दबाबपूर्ण अवस्थामा खेललाई जितमा परिणत गर्ने र फिनिसिङ गर्ने क्षमतामा सुधार आवश्यक रहेको बताए । विशेषगरी फिल्डिङमा अझै मेहनत गर्नुपर्ने उनको धारणा थियो ।
विराटनगरको हारबारे उनले अन्तिम १० ओभरमा बलिङ अपेक्षाअनुसार हुन नसक्नु मुख्य कारण रहेको बताए । दोस्रो इनिङ्समा बल भिजेका कारण बलिङ केही कठिन भएको र मैदानमा शीत पर्ने अवस्थाले बलरलाई थप चुनौती दिएको उनको भनाइ थियो । यद्यपि, त्यसलाई हारको बहाना बनाउन नमिल्ने बताउँदै उनले विपक्षी ब्याट्सम्यानले पनि आफ्नो योजना राम्रोसँग कार्यान्वयन गरेको स्वीकार गरे ।
आफ्नो टोलीले लक्ष्य रक्षा गर्न सक्नुपर्ने उल्लेख गर्दै उनले समग्र प्रतियोगितामा फिल्डिङ पनि अपेक्षाअनुसार हुन नसकेको बताए । खेलमा देखिएका कमजोरी पहिचान गरेर सुधार गर्नु आवश्यक रहेको उनको भनाइ थियो ।
विराटनगरका नेपाली खेलाडी प्रतिभाशाली भए पनि दबाबमा खेल जित्ने कला सिक्नुपर्ने उनले बताए । प्रतियोगिताका सुरुवाती दुई खेलमा पनि टोली जितको नजिक पुगेको स्मरण गर्दै उनले खेललाई अन्तिमसम्म आफ्नो पक्षमा पार्न नसक्नु कमजोरी रहेको उल्लेख गरे ।
टी–२० क्रिकेटमा दबाबको अवस्था सामना गर्दै खेलको अन्त्य राम्रोसँग गर्नु महत्त्वपूर्ण हुने बताउँदै असालंकाले खेललाई जितमा परिणत गर्न आफूहरूले पनि सिक्नुपर्ने धारणा राखे ।
एनपीएललाई प्रतिस्पर्धात्मक प्रतियोगिताका रूपमा लिएका उनले यसले नेपाली क्रिकेटमा रहेका प्रतिभालाई अवसर दिनुका साथै समग्र विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।