जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनकपुरधामको प्रसिद्ध छठ पर्वको प्रत्यक्ष साक्षी बन्न पाउँदा खुसी र गौरवको अनुभूति भएको बताएका छन् ।
छठ पर्व मनाउन शनिबार जनकपुरधाम पुगेका लामिछानेले विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन् । जनकपुरको छठ पर्वको चर्चा नेपालमा मात्र नभई विश्वभर हुने गरेको उल्लेख गर्दै उनले यस्तो ऐतिहासिक र धार्मिक पर्वमा सहभागी हुन पाउनु विशेष अवसर भएको बताए ।
‘यस्तो पवित्र, पुण्यमय र उत्सवमय अवसरमा यहाँ उपस्थित हुन पाउँदा म अत्यन्तै खुसी छु,’ उनले भने, ‘जनकपुरधामको छठ पर्वको प्रत्यक्ष साक्षी बन्न पाउँदा विशेष आनन्द र गौरवको अनुभूति भएको छ ।’
आफू र आफ्नो परिवार धार्मिक तथा आध्यात्मिक आस्थामा विश्वास गर्ने उल्लेख गर्दै लामिछानेले विभिन्न मठमन्दिरमा जाने तथा धार्मिक परम्पराअनुसार पूजा–आराधना गर्ने गरेको बताए । जनकपुरमा छठ मनाउन पुग्नु पनि त्यही आस्था र परम्पराको निरन्तरता भएको उनको भनाइ थियो।