ललितपुर । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई व्यक्तिगत रूपमा अब केही बन्नु नरहेको भन्दै पार्टीका लागि अन्तिम सास रहुन्जेल संघर्ष गर्ने बताएका छन्।
शनिबार कांग्रेसको ललितपुर जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै देउवाले आफू पाँचपटक प्रधानमन्त्री बन्नुमा पार्टीको ठूलो योगदान रहेको उल्लेख गर्दै कांग्रेसप्रति आफ्नो जिम्मेवारी र समर्पण रहेको बताए।
कांग्रेस हजारौँ नेता तथा कार्यकर्ताको त्याग, संघर्ष र सहिदहरूको बलिदानबाट बनेको पार्टी भएको उल्लेख गर्दै उनले कसैले चाहँदैमा यसको इतिहास र अस्तित्व समाप्त गर्न नसक्ने बताए। ‘मलाई व्यक्तिगत रूपमा केही पाउनु छैन । तर पार्टीका लागि अन्तिम सास रहुन्जेल संघर्ष गर्नु मेरो कर्तव्य हो,’ उनले भने।
देउवाले सहिदहरूको बलिदानबाट स्थापित पार्टीलाई कसैले आफ्नो नियन्त्रणमा राख्न नसक्ने जिकिर गरे। पार्टीको इतिहास, योगदान र बलिदानको सम्मान गर्दै यसको संरक्षण र एकताका लागि सबै नेता तथा कार्यकर्ता एकजुट हुनुपर्ने उनको भनाइ थियो।