भक्तपुर । मध्यपुरथिमि नगरपालिका–९ राधेराधेस्थित प्रजापति कम्प्लेक्समा आज बिहान आगलागी हुँदा करिब ८० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
कम्प्लेक्सको सातौँ तलामा बिहान करिब ८ बजे आगलागी भएको हो । कम्प्लेक्सका सञ्चालक कुमार प्रजापतिले पसल खोल्ने क्रममा धुवाँको मुस्लो देखेपछि दमकल र प्रहरीलाई खबर गरेका थिए ।
सातौँ तलामा सञ्चालनमा रहेको ‘द ट्रयाङ्कुली टाइम्स स्पा एण्ड वेलनेस प्रालि’ मा विद्युत् सर्ट भएर आगलागी भएको स्पाका सञ्चालक नरेश रञ्जितले जानकारी दिए ।
उनका अनुसार आगलागीबाट स्पामा मात्रै करिब ६० लाख रुपैयाँ बराबरको भौतिक सम्पत्ति नष्ट भएको छ । पाँच वर्षदेखि सञ्चालनमा रहेको स्पाले आगलागीका कारण ठूलो क्षति व्यहोर्नुपरेको उनले बताए ।
त्यस्तै, कम्प्लेक्समा करिब २० लाख रुपैयाँ बराबरको क्षति भएको सञ्चालक प्रजापतिले जानकारी दिए । कम्प्लेक्स र स्पामा गरी कुल ८० लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले बताए ।
उनका अनुसार आगलागी भएको करिब डेढ घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो । जुद्ध बारुण यन्त्र भक्तपुर, सशस्त्र प्रहरी बल नेपालको औद्योगिक सुरक्षा बेस ब्यासी र प्रहरी वृत्त थिमिको टोलीले आगो निभाएको हो । नेपाली सेनाको रणशेर गण सूर्यविनायकबाट खटिएको टोलीले पनि आगो नियन्त्रणमा सहयोग गरेको थियो ।
बिहानको समयमा आगलागी भएकाले मानवीय क्षति हुन नपाएको प्रहरी उपरीक्षक खड्काले बताए । अग्लो भवनको माथिल्लो तलामा आगलागी हुँदा दमकलबाट पानीको फोहोरा माथिसम्म पुर्याउन केही कठिनाइ भएको उनको भनाइ छ ।
जुद्ध बारुण यन्त्र भक्तपुरका प्रमुख विजय धौभडेलले अग्ला भवनमा हुने आगलागी नियन्त्रणका लागि नेपालमा पनि ड्रोन प्रविधि भित्र्याउनुपर्ने आवश्यकता औँल्याएका छन् । उनले यस्ता आगलागी नियन्त्रणलाई प्रभावकारी बनाउन सरकारले आधुनिक प्रविधिको प्रयोगमा जोड दिनुपर्ने बताए ।