संयुक्त राष्ट्रसङ्घ (रासस/सिन्ह्वा) । गाजास्थित नासेर अस्पतालमा इजरायलले गरेको हवाई आक्रमणमा छ जनाको मृत्यु र २७ जना घाइते भएपछि संयुक्त राष्ट्रसङ्घका वरिष्ठ अधिकारीहरूले आक्रमणको निन्दा गर्दै स्वास्थ्य संस्थाको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेका छन् ।
कब्जा गरिएको प्यालेस्टिनी क्षेत्रका लागि राष्ट्रसङ्घीय मानवीय संयोजक रमिज अलक्बारोभले बिहीबारको आक्रमणबाट अस्पतालमा व्यापक क्षति पुगेको भन्दै गहिरो चिन्ता व्यक्त गरे । अन्तर्राष्ट्रिय मानवीय कानूनले अस्पताल, स्वास्थ्यकर्मी र चिकित्सा सुविधाको संरक्षण गर्नुपर्ने व्यवस्था गरेको उल्लेख गर्दै उहाँले यस्ता संरचनालाई निशाना बनाउन वा सैन्य प्रयोजनमा प्रयोग गर्न नहुने बताए।
जारी हिंसाले गाजामा मानवीय पीडा थप बढाएको र कमजोर अवस्थामा रहेको युद्धविरामसमेत जोखिममा पारेको उनको भनाइ छ । जाडोयाम नजिकिँदै गर्दा प्रभावित नागरिकलाई राहत दिन आश्रय सामग्री र न्यानो कपडासहितका मानवीय सहायता सामग्री सुरक्षित तथा निर्बाध रूपमा गाजामा पुर्याउन उनले आग्रह गरे।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले गाजाका स्वास्थ्य संस्था त्यहाँका नागरिकका लागि जीवनरेखा भएको उल्लेख गर्दै तिनलाई सैन्य प्रयोजनमा प्रयोग नगर्न र आक्रमण नगर्न आग्रह गरेका छन्। उनले शान्तिलाई नै सबैभन्दा प्रभावकारी औषधिको संज्ञा दिए । डब्लुएचओका अनुसार सन् २०२३ अक्टोबरदेखि गाजामा स्वास्थ्य सेवामाथि एक हजारभन्दा बढी आक्रमणका घटना अभिलेख गरिएका छन्, जसबाट मानवीय क्षति हुनुका साथै स्वास्थ्य संरचनामा क्षति पुगेको छ ।
यसैबीच, राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) ले गत सप्ताहन्तको भारी वर्षापछि गाजामा राहत साझेदार संस्थाहरूले प्रभावित क्षेत्रमा पानी निकास गर्ने, नाली सफा गर्ने र जमेको पानी हटाउने काम गरिरहेको जनाएको छ । वर्षायाम सुरु हुन अझै केही महिना बाँकी रहे पनि विस्थापित परिवार र होचा भूभागमा बसोबास गर्ने नागरिक ढल मिसिएको पानीको जोखिममा रहेको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार पानी निकाल्ने पम्प, बालुवाका बोरा तथा अन्य उपकरण उपलब्ध आवश्यकता पूरा गर्न पर्याप्त छैनन् । प्रयोगशालाका सामग्री र चिकित्सा उपकरण गाजामा प्रवेश गर्न नदिइएकाले रोगको प्रारम्भिक पहिचान र प्रकोप नियन्त्रणमा समेत कठिनाइ भएको छ । जाडोयाममा यस्तो जोखिम अझ बढ्ने चेतावनी दिइएको छ ।
मानवीय सहायता संस्थाहरूले पाल, सिमेन्ट, न्यानो कपडा, कम्बल, बालुवाका बोरा, पानी तान्ने पम्प, जेनेरेटर, इन्धन र आवश्यक उपकरण गाजामा सहज रूपमा प्रवेश गराउन लगाइएका प्रतिबन्ध हटाउन माग गरेका छन् । भग्नावशेष र विस्फोटक पदार्थ हटाउने उपकरण तथा जाडोयामका लागि औषधि र खोपको पनि आवश्यकता रहेको कार्यालयले जनाएको छ ।
बुधबारसम्म सहायता साझेदारहरूले तत्काल सहयोग आवश्यक ठहर गरिएका करिब पाँच हजार २०० परिवारमध्ये एक हजार ८०० परिवारलाई पाल, त्रिपाल, कम्बल र अन्य अत्यावश्यक सामग्री उपलब्ध गराएका छन् । यो कुल आवश्यक परिवारको करिब एक तिहाइ हो ।