सोल– दक्षिण कोरियामा लगातार चौथो महिनासम्म रोजगारी वृद्धि एक लाखभन्दा माथि रहे पनि युवा वर्गमा रोजगारी घट्ने क्रम रोकिएको छैन । सेवा क्षेत्रका केही उद्योगमा रोजगारीका अवसर बढे पनि होटल तथा रेस्टुरेन्ट र निर्माण क्षेत्रमा रोजगारी घट्दा श्रम बजारमा चुनौती थपिएको छ ।
दक्षिण कोरियाको तथ्याङ्क तथा तथ्याङ्क मन्त्रालयका अनुसार गत अक्टोबरमा १५ वर्ष वा सोभन्दा माथिका रोजगारीमा रहेका व्यक्तिको सङ्ख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा एक लाख ३९ हजारले बढेको छ । यो ०.५ प्रतिशतको वृद्धि हो । यससँगै कुल रोजगारीमा रहेका व्यक्तिको सङ्ख्या दुई करोड ९१ लाख ७९ हजार पुगेको छ ।
गत जुलाईदेखि दक्षिण कोरियामा रोजगारी वृद्धि निरन्तर एक लाखभन्दा माथि रहँदै आएको छ ।
यद्यपि, १५ वर्ष वा सोभन्दा माथिको उमेर समूहको समग्र रोजगारी दर भने ०.१ प्रतिशत विन्दुले घटेर ६३.३ प्रतिशतमा सीमित भएको छ । तर, १५ देखि ६४ वर्ष उमेर समूहको रोजगारी दर ०.३ प्रतिशत विन्दुले बढेर ७०.४ प्रतिशत पुगेको छ । सन् १९८९ देखि तथ्याङ्क राख्न थालिएयता अक्टोबर महिनाका लागि यो सबैभन्दा उच्च दर हो ।
क्षेत्रगत रूपमा हेर्दा आवास तथा खाद्य सेवा क्षेत्रमा सबैभन्दा बढी एक लाख ३७ हजार रोजगारी घटेको छ । त्यस्तै, उत्पादनमूलक उद्योगमा सात हजार र निर्माण क्षेत्रमा ४२ हजार रोजगारी गुमेको छ । निर्माण क्षेत्रमा रोजगारी घट्ने क्रम लगातार ३० महिनादेखि जारी रहेको मन्त्रालयले जनाएको छ ।
यसको विपरीत स्वास्थ्य तथा सामाजिक कल्याण क्षेत्रमा दुई लाख ४९ हजार रोजगारी थपिएको छ । त्यस्तै, यातायात तथा भण्डारण क्षेत्रमा ४८ हजार तथा व्यावसायिक सुविधा व्यवस्थापन क्षेत्रमा ३७ हजार रोजगारी वृद्धि भएको छ ।
समग्र रोजगारीमा सुधार देखिए पनि युवा पुस्ताको अवस्था भने कमजोर बन्दै गएको छ । अक्टोबरमा १५ देखि २९ वर्ष उमेर समूहका रोजगारीमा रहेका युवाको सङ्ख्या एक लाख ९६ हजारले घटेको छ । युवामा रोजगारी घट्ने क्रम लगातार ४८ महिनादेखि जारी रहेको तथ्याङ्कले देखाएको छ ।
यसैबीच, दक्षिण कोरियामा बेरोजगारको सङ्ख्या छ लाख दुई हजार पुगेको छ । यद्यपि, बेरोजगारी दर भने घटेर दुई प्रतिशतमा झरेको छ । अर्कोतर्फ, आर्थिक रूपमा निष्क्रिय जनसङ्ख्या एक लाख ७९ हजारले बढेर एक करोड ६२ लाख ९९ हजार पुगेको छ । यसले समग्र रोजगारी वृद्धि भइरहे पनि युवा रोजगारी र श्रम बजारको सहभागितामा चुनौती कायमै रहेको देखाएको छ ।