काठमाडौँ, २१ कात्तिक । प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरी जयन्ती तथा आरोग्यता दिवस आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।
आयुर्वेद चिकित्सा पद्धतिका प्रवर्तक भगवान् धन्वन्तरीको उत्पत्ति भएको सम्झनामा यो दिवस मनाउने गरिन्छ । वैदिक सनातन हिन्दू धर्मग्रन्थअनुसार समुद्र मन्थनका क्रममा कात्तिक कृष्ण त्रयोदशीका दिन भगवान् धन्वन्तरी अमृत कलशसहित प्रकट हुनुभएको मान्यता छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार त्रयोदशी तिथिमा धन्वन्तरी जयन्ती मनाउनुपर्ने भएकाले आज यो पर्व मनाउन लागिएको हो ।
वनजङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीन वैदिक चिकित्सा पद्धति आयुर्वेदका संस्थापकका रूपमा भगवान् धन्वन्तरीलाई मानिन्छ । उहाँको हातमा आयुर्वेदको पुस्तक र औषधीय जडीबुटी रहने धार्मिक विश्वास छ ।
यस दिन आयुर्वेद क्षेत्रका चिकित्सक तथा स्वास्थ्यकर्मीले भगवान् धन्वन्तरीको पूजा आराधना गरी शुभकार्यको सङ्कल्प गर्ने परम्परा छ । काठमाडौँको नरदेवीमा आयुर्वेद क्याम्पस स्थापना भएपछि नेपालमा विधिवत् रूपमा धन्वन्तरी जयन्ती मनाउन थालिएको हो ।
विसं २०२९ देखि त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानअन्तर्गत आङ्गिक क्याम्पसका रूपमा सञ्चालन हुँदै आएको आयुर्वेद क्याम्पस हाल कीर्तिपुरमा रहेको छ ।
आयुर्वेद क्षेत्रका व्यक्तिको पहलमा विसं २०५६ देखि धन्वन्तरी जयन्तीलाई आरोग्यता दिवसका रूपमा समेत मनाउन थालिएको हो । यस अवसरमा भगवान् धन्वन्तरीको पूजा, आराधना तथा आयुर्वेदसम्बन्धी विभिन्न कार्यक्रम आयोजना गरिँदै आएको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक श्यामबाबु यादवले जानकारी दिए ।
दिवसका अवसरमा आज सिंहदरबार वैद्यखाना विकास समिति, नरदेवी आयुर्वेद अस्पताल, आयुर्वेद क्याम्पस कीर्तिपुर, नेपाल संस्कृत विश्वविद्यालयको आयुर्वेद क्याम्पस दाङ, जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड कोटेश्वरलगायत सरकारी तथा निजी आयुर्वेद संस्थामा विभिन्न कार्यक्रम आयोजना हुँदैछन् ।
पछिल्लो समय आयुर्वेदिक औषधिको माग उल्लेख्य रूपमा बढेको छ । सिंहदरबार वैद्यखाना विकास समितिका अनुसार विगतको तुलनामा आयुर्वेदिक औषधिको माग चार गुणासम्म वृद्धि भएको छ । समितिले उत्पादन गर्ने औषधिको मागसमेत उच्च रहेको जनाएको छ ।