काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षमा भारत र बंगलादेशमा ३० अर्ब रुपैयाँ बराबरको विद्युत् निर्यात गर्ने लक्ष्य राखेको छ। गत आर्थिक वर्षमा करिब २९ अर्ब रुपैयाँको विद्युत् निर्यात गरेको प्राधिकरणले यस वर्ष निर्यात आम्दानी बढाउने अनुमान गरेको हो।
प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठका अनुसार हालसम्म २४ देखि २५ अर्ब रुपैयाँ बराबरको विद्युत् निर्यात भइसकेको छ। पछिल्ला तीन–चार महिनामा मात्रै प्रतिमहिना करिब पाँच अर्ब रुपैयाँ बराबरको विद्युत् निर्यात भएको उनले बताए।
भोटेकोशी बाढीका कारण केही जलविद्युत् आयोजनामा क्षति पुगे पनि यस वर्ष पर्याप्त वर्षा भएकाले नदीमा पानीको बहाव बढेको र विद्युत् उत्पादनमा त्यसले सहयोग पुर्याएको श्रेष्ठले बताए। उत्पादन बढेकाले निर्यात परिमाण र आम्दानीसमेत गत वर्षभन्दा बढी हुने उनको अनुमान छ।
नेपालले आन्तरिक माग पूरा गरी बचत भएको वर्षायामको विद्युत् भारत र बंगलादेशमा निर्यात गर्दै आएको छ। भारततर्फ द्विपक्षीय विद्युत् बिक्री सम्झौताअनुसार हरियाणा र बिहार राज्यमा तथा भारतीय ऊर्जा विनिमय बजार (आईएक्स) को डे-अहेड र रियल टाइम बजारमार्फत प्रतिस्पर्धी दरमा विद्युत् बिक्री हुँदै आएको छ। हरियाणा र बिहारसँगको मध्यकालीन सम्झौताअनुसार जुनदेखि अक्टोबरसम्म विद्युत् निर्यात गरिन्छ।
यस वर्ष भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको हिमबाढीका कारण त्रिशूली नदीमा आएको बाढीले बंगलादेश निर्यातका लागि स्वीकृति पाएका त्रिशूली र चिलिमे जलविद्युत् केन्द्रमा क्षति पुर्याएपछि निर्यात रोकिएको थियो। त्यसको असर भारतको हरियाणा राज्यतर्फ हुने विद्युत् निर्यातमा समेत परेको थियो।
प्राधिकरणले प्रभावित आयोजनाको सट्टा अन्य आयोजनाबाट उत्पादित विद्युत् निर्यात गर्ने व्यवस्था मिलाएपछि बंगलादेशतर्फको निर्यात पुनः सुरु भएको श्रेष्ठले जानकारी दिए। भारतको केन्द्रीय विद्युत् प्राधिकरणबाट नयाँ आयोजनाको विद्युत् निर्यातका लागि स्वीकृति प्राप्त भएपछि केही दिनअघिदेखि निर्यात थालिएको हो।
नयाँ व्यवस्थाअनुसार यसअघि स्वीकृति पाएका त्रिशूली, देवीघाट र चिलिमे जलविद्युत् केन्द्रको सट्टा सोलु, काबेली–१ र तल्लो मोदी जलविद्युत् केन्द्रबाट उत्पादित विद्युत् बंगलादेश तथा भारतको हरियाणा राज्यमा निर्यात गर्न अनुमति पाइएको छ।
‘केही दिनअघिदेखि हामीले पुनः विद्युत् निर्यात सुरु गरिसकेका छौँ। यो ठूलो सफलता हो,’ श्रेष्ठले भने। बाढीबाट प्रभावित आयोजनाको उत्पादन तथा प्रसारण संरचनामा क्षति पुगे पनि अन्य आयोजनाको विद्युत् निर्यातलाई निरन्तरता दिन सक्नु उपलब्धिपूर्ण रहेको उनको भनाइ छ। यसले वर्षायामको अतिरिक्त विद्युत् व्यवस्थापन र क्षेत्रीय विद्युत् व्यापार विस्तारमा सहयोग पुग्ने उनले बताए।
नेपाल विद्युत् प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) बीच २०८१ असोज १७ गते वर्षायामको विद्युत् निर्यातसम्बन्धी पाँचवर्षीय सम्झौता भएको थियो। सम्झौताअनुसार प्रत्येक वर्ष जुन १५ देखि नोभेम्बर १५ सम्म दैनिक ४० मेगावाट विद्युत् बंगलादेशमा निर्यात हुँदै आएको छ।
भारतसँगको द्विपक्षीय तथा प्रतिस्पर्धी बजार र बंगलादेशसँगको सम्झौतामार्फत हुने विद्युत् व्यापारले नेपालको अतिरिक्त विद्युत् व्यवस्थापनमा सहयोग पुर्याउँदै आएको छ।