मुस्ताङ। उच्च हिमाली क्षेत्रमा दाउरा तथा अन्य जैविक इन्धनको निर्भरता घटाउँदै स्वच्छ ऊर्जा प्रविधि प्रवर्द्धन गर्ने उद्देश्यले मुस्ताङको घरपझोङ गाउँपालिकामा स्वच्छ ऊर्जा परियोजना सुरु भएको छ।
हिमालयमा स्वच्छ तापका लागि नवीकरणीय ऊर्जा प्रवर्द्धन परियोजना (हार्नेसिङ रिन्युएबल इनर्जी फर क्लिन हिटिङ इन द हिमालय) अन्तर्गत घरपझोङका ६५ घरधुरी र पाँच संस्थासँग सहकार्य गरी स्वच्छ ऊर्जा प्रविधिको पहिचान, परीक्षण तथा प्रवर्द्धन गरिनेछ।
परियोजनाले परम्परागत जैविक इन्धनको विकल्पमा हिमाली समुदायका लागि भरपर्दो स्वच्छ ऊर्जा प्रविधिको प्रयोग बढाउने लक्ष्य राखेको छ। यसबाट घरभित्रको वायुप्रदूषण तथा कालो कार्बन उत्सर्जन घटाउनुका साथै स्थानीय बासिन्दाको स्वास्थ्य, जीवनस्तर र जलवायु उत्थानशीलता सुधारमा योगदान पुग्ने अपेक्षा गरिएको छ।
नेपालका उच्च हिमाली क्षेत्रमा लामो र कठोर जाडो छल्न अझै धेरै परिवार दाउरा तथा अन्य जैविक इन्धनमा निर्भर छन्। यस्ता इन्धनको प्रयोगले घरभित्रको वायुप्रदूषण बढाउनुका साथै कालो कार्बन उत्सर्जन बढाउने र हिन्दूकुश हिमालय क्षेत्रमा हिउँ तथा हिमनदी पग्लिने प्रक्रियालाई तीव्र पार्ने जोखिम रहेको परियोजनाले जनाएको छ।
परियोजना शुभारम्भ कार्यक्रममा घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले दाउरामाथिको निर्भरता दीर्घकालीन समाधान नभएकाले हिमाली क्षेत्रमा स्वच्छ तथा दिगो ऊर्जा प्रविधिको विस्तार आवश्यक रहेको बताए।
‘स्वच्छ ऊर्जा प्रविधिमा गरिने लगानी स्वास्थ्य र आर्थिक समृद्धि दुवैका हिसाबले उत्तिकै महत्वपूर्ण छ,’ लालचनले भने।
उनले ग्रामीण क्षेत्रमा स्वच्छ ऊर्जा उपकरण बिग्रँदा मर्मत तथा प्रतिस्थापनमा हुने कठिनाइलाई पनि चुनौतीका रूपमा औँल्याए। आवश्यक प्राविधिक सीप र सेवा गाउँमै उपलब्ध नहुँदा प्रविधिको दिगोपनमा समस्या आउन सक्ने भएकाले स्थानीय स्तरमै प्राविधिक क्षमता विकास गर्नुपर्ने उनको भनाइ छ।
परियोजनाबाट उच्च हिमाली क्षेत्रमा स्वच्छ ऊर्जा प्रविधिको प्रयोग, प्रभावकारिता र स्थानीय आवश्यकतासम्बन्धी प्रमाण तथा सिकाइ प्राप्त हुने अपेक्षा गरिएको छ। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र प्राक्टिकल एक्सन नेपालसँगको सहकार्यमा क्लिन एयर फन्डको आर्थिक सहयोगमा परियोजना सञ्चालन गरेको हो।