काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबारको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई १७७ रनको लक्ष्य दिएको छ ।
टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७६ रन बनाएको हो ।
सुदूरपश्चिमका लागि ओपनर सैफ अली जैबले सर्वाधिक ३५ रन बनाए । २४ बलको सामना गरेका उनले चार चौका र एक छक्का प्रहार गरे । विनोद भण्डारीले २२ बलमा दुई चौका र दुई छक्कासहित २७ रन जोडे ।
जैब र भण्डारीले पहिलो विकेटका लागि ६८ रनको साझेदारी गर्दै टोलीलाई राम्रो सुरुवात दिलाएका थिए । तर, आठौँ ओभरमा भण्डारी र नवौँ ओभरमा जैब आउट भएपछि सुदूरपश्चिमले नियमित अन्तरालमा विकेट गुमाउन पुग्यो ।
ब्रान्डन म्याकमुलेनले १६ बलमा दुई चौका र एक छक्कासहित २४ रन बनाउँदा इशान पाण्डेले १३ बलमा तीन छक्का प्रहार गर्दै २३ रन जोडे । कप्तान दीपेन्द्रसिंह ऐरीले १० र आरिफ शेखले ११ रन बनाए ।
लोअर अर्डरमा थरिन्द्र रत्नायकेले आक्रामक ब्याटिङ गर्दै १२ बलमा तीन चौका र एक छक्काको मद्दतमा अविजित २२ रन बनाए । स्कट कुगेलेइनले ६ बलमा दुई चौकासहित अविजित १३ रन जोडे ।
सुदूरपश्चिमले अन्तिम पाँच ओभरमा ५७ रन थपेको थियो ।
कर्णालीका लागि मार्क वाटले दुई विकेट लिए । नन्दन यादव, हुसेन तलत र सूर्य तामाङले एक–एक विकेट हात पारे ।