नयाँदिल्ली । भारतको आन्ध्र प्रदेशको तटीय क्षेत्रमा शक्तिशाली चक्रवात ‘मुरासु’ प्रवेश गरेको छ । सोमबार मध्यराति करिब १ बजे तटीय क्षेत्रमा ठोक्किन थालेको चक्रवातका कारण तीव्र हावाहुरी र भारी वर्षा भइरहेको छ ।
भारतीय मौसम विभागका अनुसार आन्ध्र प्रदेशको नेल्लोर र नरसपुरबीच चक्रवात तटमा प्रवेश गरेको हो । यसको प्रभावले तटीय क्षेत्रमा प्रतिघण्टा १०० देखि ११० किलोमिटरको गतिमा हावा चलिरहेको छ । आगामी केही घण्टाभित्र चक्रवातले आन्ध्र प्रदेशको तटीय क्षेत्र पार गर्ने अनुमान गरिएको छ ।
चक्रवातको जोखिमलाई ध्यानमा राख्दै ओडिशा सरकारले गन्जाम, गजपति, रायगडा, कोरापुट र मलकानगिरी जिल्लाका एक लाख ६० हजारभन्दा बढी बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ ।
चक्रवातका कारण हवाई सेवा पनि प्रभावित भएको छ । आन्ध्र प्रदेशका तीन विमानस्थलबाट सञ्चालन हुने १९ वटा उडान रद्द गरिएका छन् भने चेन्नई विमानस्थलका ११ उडान स्थगित भएका छन् ।
सम्भावित जोखिम न्यूनीकरण तथा उद्धारका लागि भारतका पाँच राज्यमा राष्ट्रिय विपद् प्रतिकार्य बल (एनडीआरएफ) का ३७ टोली परिचालन गरिएको छ । तीमध्ये १३ टोली आन्ध्र प्रदेशमा खटिएका छन् । नेल्लोर, प्रकाशम र मार्कापुरम क्षेत्रमा उद्धार तथा राहत कार्यका लागि थप सुरक्षाकर्मी परिचालन गरिएको छ ।
चक्रवातको प्रभाव तमिलनाडुमा पनि परेको छ । पछिल्लो २४ घण्टामा चेन्नईको माधवरम क्षेत्रमा सबैभन्दा बढी ११ सेन्टिमिटर वर्षा मापन गरिएको छ । एन्नोर बन्दरगाह र नुङ्गम्बक्कममा १०–१० सेन्टिमिटर वर्षा भएको छ । भारी वर्षाका कारण सहरका २२ मध्ये दुई भूमिगत सडक जलमग्न भएका छन् ।
यस्तै, ओडिशाको पुरी क्षेत्रमा पनि भारी वर्षा भइरहेको छ भने समुद्रमा ठूला छाल उठेका छन् । रायगडा जिल्लामा उद्धार टोलीलाई तयारी अवस्थामा राखिएको छ । एनडीआरएफ, ओडिशा विपद् प्रतिकार्य बल र अग्नि सेवाका ३०० भन्दा बढी उद्धार टोली परिचालन गरिएको छ ।
तमिल भाषामा ‘युद्धको नगरा’ भन्ने अर्थ दिने ‘मुरासु’ नाम भारतले दिएको हो । बंगालको खाडीमा नोभेम्बर १ मा चक्रवातको रूप लिएको यो मौसमी प्रणाली २४ घण्टाभित्र शक्तिशाली चक्रवाती आँधीमा परिणत भएको थियो ।
एक साताभित्र बंगालको खाडीमा विकसित भएको यो दोस्रो चक्रवात हो । यसअघि अक्टोबर २८ मा आएको चक्रवात ‘अर्नब’ले आन्ध्र प्रदेश र ओडिशामा ठूलो क्षति पुर्याएको थियो । उक्त चक्रवातका कारण दुवै राज्यमा छ जनाको मृत्यु भएको थियो भने ५७ हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको थियो ।
भारतीय मौसम विभागले ‘मुरासु’को प्रभाव मध्यप्रदेश, छत्तीसगढ, केरल, तेलंगाना, कर्नाटक र महाराष्ट्रसम्म फैलिन सक्ने अनुमान गरेको छ ।