काठमाडौँ । नेकपा (एमाले) का नेता एवं पूर्वसांसद सूर्य थापाले प्रहरी हिरासतमा रहेका इनम सापकोटा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) का बिचौलिया भएको आरोप लगाएका छन् ।
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै थापाले सापकोटा प्रधानमन्त्री शाहको निर्वाचन क्षेत्र झापा–५ मा चुनावी सर्वेक्षणका लागि परिचालित व्यक्ति रहेको दाबी गरे ।
प्रधानमन्त्रीसँग सम्बन्ध नभएको व्यक्तिले न्यायाधीशलाई हप्काउन सक्ने अवस्था नरहेको तर्क गर्दै उनले सापकोटाको प्रधानमन्त्रीसँग सम्बन्ध रहेको दाबी गरे ।
‘प्रधानमन्त्रीसँग सम्बन्ध नभएको व्यक्तिले न्यायाधीशलाई हप्काउन सक्छ ? सापकोटा बिचौलिया हुन् भने बालेनकै हुन्,’ थापाले भने ।
यसैबीच, सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटनाप्रति पनि थापाले आपत्ति जनाए । उनले सञ्चारमाध्यममाथि प्रहरीको धरपकडलाई सरकारको ज्यादती र असफलताको संज्ञा दिए ।
प्रधानमन्त्री शाहको सञ्चारमाध्यमप्रतिको बुझाइप्रति पनि प्रश्न उठाउँदै थापाले ‘प्रधानमन्त्री बालेनको लागि मिडिया भनेको फेसबुक मात्रै हो’ भने । सञ्चारगृहमा प्रहरी प्रवेश गरेर पत्रकार पक्राउ गर्ने घटनाले सरकारको सञ्चारमाध्यमप्रतिको दृष्टिकोण उजागर गरेको उनको भनाइ थियो ।