जनकपुरधाम। सञ्चारगृहमै प्रवेश गरेर प्रहरीले गरेको धरपकड र पत्रकार पक्राउको विरोधमा जनकपुरधामका पत्रकारहरूले प्रदर्शन गरेका छन्।
नेपाल पत्रकार महासङ्घको केन्द्रीय समितिको सर्कुलरअनुसार जिल्ला शाखाले आयोजना गरेको विरोध कार्यक्रममा पत्रकारहरूले प्लेकार्डसहित मौन प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा सहभागी पत्रकारहरूले सञ्चारगृहमै प्रवेश गरेर प्रहरीले गरेको धरपकड र पत्रकार पक्राउ गर्ने कार्यले स्वतन्त्र पत्रकारितामाथि दबाब सिर्जना गर्नुका साथै पत्रकारलाई त्रसित पार्ने बताएका छन् ।
पत्रकारसँग कुनै विषयमा सोधपुछ वा छलफल गर्नुपर्ने भए सहज रूपमा बोलाउन सकिने अवस्था हुँदाहुँदै सञ्चारगृहमै पुगेर धरपकड गर्नु अस्वीकार्य रहेको एक प्रदर्शनकारीले बताए । पत्रकारजस्तो सचेत पेसाकर्मीलाई सामान्य सोधपुछका लागि बोलाउँदा उपस्थित नहुने अवस्था नरहेको उल्लेख गर्दै उनले राज्यले यस्तो कदम चाल्नु उचित नभएको बताए ।
उनले विगत आठ–दश दशकको राजनीतिक इतिहासमा राज्यका यस्ता प्रयास सफल नभएको र अहिले पनि सफल नहुने दाबी गरे ।
यसैबीच, महासङ्घले सञ्चारमाध्यममाथिको धरपकड र पत्रकार पक्राउविरुद्ध आगामी दिनमा पनि चरणबद्ध आन्दोलन गर्ने जनाएको छ । केन्द्रीय समितिको निर्देशनअनुसार देशभरका जिल्ला शाखाले विरोधका कार्यक्रम सञ्चालन गर्ने महासङ्घका प्रतिनिधिले जानकारी दिए ।