काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्सबीचको खेल ५–५ ओभरमा हुने भएको छ ।
लगातारको वर्षाका कारण प्रभावित खेल त्रिवि क्रिकेट मैदानमा ग्राउन्ड स्टाफको लामो प्रयासपछि सञ्चालन हुने भएको हो । मैदान निरीक्षण गरेपछि अम्पायरहरूले दुवै टोलीबीच ५–५ ओभरको खेल गराउने निर्णय गरेका हुन् ।
निर्धारित तालिकाअनुसार साँझ ७:२५ बजे टस हुनेछ भने ७:४१ बजे खेल सुरु हुनेछ ।
खेलका लागि मैदानको रेडबुल जोनतर्फको बाउन्ड्री छोटो बनाइएको छ । साथै, स्कोरबोर्डतर्फको दोस्रो विकेटमा खेल सञ्चालन गरिने भएको छ ।
ओभर सङ्ख्या कम हुनुका साथै बाउन्ड्री पनि छोटो बनाइएकाले खेलमा आक्रामक ब्याटिङ र उच्च स्कोरको अपेक्षा गरिएको छ । यद्यपि, वर्षापछि पिचको अवस्था र त्यसले खेलमा पार्ने प्रभाव भने खेल सुरु भएपछि मात्रै स्पष्ट हुनेछ ।