काठमाडौं । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र संरक्षणको माग गर्दै आज शनिबार काठमाडौंको माइतीघर मण्डलामा मौन धर्ना दिने भएको छ।
सरकारले सञ्चारगृहमा प्रवेश गरी पत्रकारलाई त्रसित बनाउने तथा स्वतन्त्र पत्रकारितामाथि हस्तक्षेप गर्ने गतिविधि गरेको भन्दै महासंघले विरोधस्वरूप धर्ना आयोजना गर्न लागेको हो।
महासंघका अनुसार सरकारका प्रेसविरोधी गतिविधि र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेपविरुद्ध शनिबार बिहान ८ बजेदेखि ९ बजेसम्म एक घण्टा मौन धर्ना दिइनेछ।
धर्नामा सहभागी हुन महासंघले सम्पूर्ण पत्रकार, नागरिक समाज, मानवअधिकारकर्मी तथा प्रेस र अभिव्यक्ति स्वतन्त्रताका पक्षधरलाई आह्वान गरेको छ।