शिख (म्याग्दी) । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ किन्दु टोलकी भूमदेवी शेरपुञ्जा पुन पहिरोका कारण घर छाड्न बाध्य भइन्। केही दिन शिखस्थित अस्थायी आश्रयस्थलमा बिताएकी उनी अहिले दिदी सुनमाया तिलिजाले उपलब्ध गराएको खाली घरमा बस्न थालेकी छन्।
सुनमायाको परिवार अन्यत्र बसाइँ सरेपछि खाली रहेको घर अहिले भूमदेवीको परिवारका लागि सुरक्षित आश्रय बनेको छ। विपद्का कारण घरबारविहीन बनेका परिवारलाई आफन्तका खाली घर तत्कालका लागि बसोबासको विकल्प बनेका छन्।
“करिब १५–२० दिन शिखको आश्रयस्थलमा बसेपछि घरसल्लाह गरेर दिदीको खाली घरमा बस्ने निर्णय लिएका हौँ,” भूमदेवीले भनिन्, “सरकारले पनि कति समय आश्रयस्थलमा राख्न सक्ला र भन्ने लाग्यो। आफ्नै घर नबनाउँदासम्मका लागि दिदीको खाली घरमा बस्न थालेका हौँ।”
भूमदेवीको परिवारले आपत्का बेला आश्रय पाएको छ भने प्रयोगविहीन अवस्थामा रहेको घर पनि उपयोगमा आएको छ। किन्दु टोलका अन्य विस्थापित परिवार पनि आफन्तका खाली घरमा बस्न थालेका छन्। कतिपय परिवार शिख देउराली, शिख तल्लो र शिख उपल्लो गाउँमा व्यवस्थापन भएका छन्।
आश्रयस्थल छाडेर आफ्नै व्यवस्थापनमा
अन्नपूर्ण गाउँपालिका–५ का धोस्केखोर, किन्दु, झारवाङ र घिरवाङमा गरी ४५ घर छन्। पोखरा, काठमाडौँलगायत सहरमा बसाइँ सरेका परिवारबाहेक ३५ परिवार गाउँमै बसोबास गर्दै आएका थिए। गत असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि पहिरोले यी बस्ती घेरिँदा गाउँसँगको सम्पर्क विच्छेद भएको थियो।
जोखिममा परेका ९१ जनालाई हेलिकप्टरबाट उद्धार गरी शिख देउरालीस्थित कान्छीबाराही युवा क्लबको खेलमैदानमा ल्याइएको थियो। उनीहरूका लागि त्यहाँ अस्थायी आश्रयस्थलको व्यवस्था गरिएको थियो।
पहिरोले नारायण शेरपुञ्जा पुन, रुकबहादुर पुर्जा, खेमबहादुर पाइजा, रेकबहादुर पुर्जा, तमबहादुर पुर्जा र जुगमान चोचाङ्गीका घर भत्काएको थियो। अन्य कतिपय घर भत्किनबाट जोगिए पनि चर्किएर बस्न नमिल्ने अवस्थामा पुगेका छन्।
आश्रयस्थलमा टहरा र पालमुनि बस्दै आएका अधिकांश परिवारले दसैँअघि नै वैकल्पिक बसोबासको व्यवस्था मिलाएका छन्। टोल संयोजक दीपक तिलिजाका अनुसार विस्थापित परिवार आफन्तका खाली घर तथा अन्य सुरक्षित स्थानमा सरेका हुन्।
शनिबार दिउँसो आश्रयस्थलमा भेटिएका नारायण शेरपुञ्जा पुनले पनि विस्थापित परिवार आफैँले बसोबासको व्यवस्था मिलाउन थालेको बताए। तर, उनको परिवार भने अझै अन्योलमा छ।
घर, गोठ र खेतीयोग्य जमिन पहिरोले बगायो
पहिरोले नारायणको घर, गोठ र खेतीयोग्य जमिन बगाएको छ। घरभित्र रहेका अन्नपात तथा अन्य सामग्री निकाल्ने अवसरसमेत उनले पाएनन्।
“२०–२१ मुरी आलु र दुई मुरी मकैसहित घरमा भएका सामान निकाल्न पाइनँ। सबै पहिरोले बगायो,” उनले भने, “पहिरो जाने दिन गोठबाट फुकाएर जङ्गलमा पठाएको भैँसी बाटो नभएकाले अझै ल्याउन सकेको छैन।”
उनकी श्रीमती पोखरामा रहेका छोराछोरीकहाँ गएकी छन्। नारायण पनि कसैको खाली घरमा बसेर आफ्नै खेतबारीमा काम गर्ने सोचमा छन्। तर, घर र जग्गाजमिन टाढा भएकाले कहाँ बस्ने भन्ने निर्णय गर्न सकेका छैनन्। त्यसैले उनी अझै आश्रयस्थलमै बसिरहेका छन्।
चार वर्षअघि पनि पहिरोले उनको घर भत्काएको थियो। घर पुनर्निर्माणका लागि सरकारले दिने पाँच लाख रुपैयाँ अनुदानको पूरै रकम नपाउँदै उनले बनाएको नयाँ घरसमेत यसपटकको पहिरोले भत्काएको हो।
वर्षा रोकिएपछि विस्थापित परिवार दैनिक काममा फर्कन थालेका छन्। उनीहरू दिनभर गाउँ पुगेर खेतबारी तथा घरायसी काम गर्छन्। कतिपयले घरमा बाँकी रहेका सामान सुरक्षित स्थानमा सारिरहेका छन्। साँझ खाना खान र सुत्न भने होल्डिङ सेन्टर फर्कने गरेका छन्।
“दसैँअघि आश्रयस्थलमा धेरै जना हुनुहुन्थ्यो। अहिले सङ्ख्या घट्दै गएको छ,” रेकबहादुर पुर्जाले भने, “विपद्का बेला सरकारको मुख ताकेर मात्र बस्दा दुःख पाइन्छ भन्ने लागेर सक्ने र सम्भव हुनेले आफैँ व्यवस्थापन गर्नुभएको छ।”
यद्यपि, अस्थायी बसोबासको व्यवस्था मिलाउँदैमा विस्थापित परिवारका सबै समस्या समाधान भएका छैनन्। घर भत्किएर सामान निकाल्न नपाएकाहरूलाई खाद्यान्न, भाँडाकुँडा र लत्ताकपडाको अभाव छ। उनीहरूलाई राहत तथा सहयोगको आवश्यकता अझै रहेको छ।
शिखका अगुवा गणेश गुरुङ (सुरेन)का अनुसार सरकारी निकाय तथा दाताको सहयोग जुटाएर प्रभावित परिवारको बसोबास सहज बनाउने प्रयास भइरहेको छ।
विद्युत्, खानेपानी र पदमार्ग पुनःनिर्माणको चुनौती
विपद्बाट सबैभन्दा बढी प्रभावित अन्नपूर्ण गाउँपालिका–५ मा पुनःस्थापनाका चुनौती कायमै छन्। वडाध्यक्ष राजेश तिलिजा पुनका अनुसार विद्युत्, खानेपानी र पदमार्गको तत्काल सुधार आवश्यक छ।
“सडक त अहिले धेरै टाढाको विषय भएको छ,” उनले भने, “धेरै प्रयासपछि विद्युत् सेवा सञ्चालन हुन थालेको छ। श्रमदान गरेर पदमार्ग निर्माण गरिरहेका छौँ। खानेपानीको व्यवस्था मिलाउने प्रयासमा पनि जुटेका छौँ।”
पहिरो प्रभावित बस्तीको भौगर्भिक अवस्था अध्ययन गर्न विज्ञ टोली आउन ढिलाइ हुँदा पुनःस्थापनासम्बन्धी निर्णय लिन कठिन भएको वडाध्यक्ष तिलिजाले बताए। कुन बस्तीमा बसोबास सुरक्षित छ र कुन ठाउँबाट बासिन्दालाई स्थानान्तरण गर्नुपर्ने हो भन्ने यकिन नहुँदा प्रभावित परिवार अन्योलमा छन्।
अन्य बस्तीका आश्रयस्थल पनि खाली हुँदै
अन्नपूर्ण गाउँपालिका–५ को पाउद्वारबाट विस्थापित भएर वडा नम्बर ६ को घारस्थित अस्थायी आश्रयस्थलमा बस्दै आएका परिवारका लागि पनि वैकल्पिक बसोबासको व्यवस्था भएपछि उक्त आश्रयस्थल कात्तिक १ गतेदेखि बन्द भएको छ।
घारका वडाध्यक्ष रामबहादुर खड्काका अनुसार विस्थापित परिवारले आफ्ना सामान आश्रयस्थलमै राखेर आफन्तकहाँ तथा गाउँ फर्किएका छन्। वर्षा भएमा पुनः आश्रयस्थलमा आउने गरी उनीहरू फर्किएका हुन्। घारस्थित आश्रयस्थलमा पाउद्वारका ११५ जनासम्मले आश्रय लिएका थिए।
त्यस्तै, अन्नपूर्ण गाउँपालिका–८ महभिरबाट विस्थापित भएका ३० परिवार बस्दै आएको सिरुवारीस्थित आश्रयस्थल पनि खाली भएको छ। वडाध्यक्ष खमबहादुर गर्बुजाका अनुसार महभिरका प्रभावित परिवार खाली घर खोजेर आफ्नै व्यवस्थापनमा बस्न थालेका छन्। घर नपाएका परिवारका लागि बसोबासको व्यवस्था मिलाउन सहजीकरण भइरहेको छ।
यस वर्षको मनसुनजन्य विपद्मा परी अन्नपूर्ण गाउँपालिकामा छ जनाको मृत्यु भएको छ। गाउँपालिकाका अनुसार विपद्का कारण ६० घर पूर्ण र १२९ घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन्।
विपद्पछि अस्थायी आश्रयस्थलमा सुरु भएको विस्थापित परिवारको जीवन अहिले बिस्तारै आफ्नै व्यवस्थापनतर्फ अघि बढिरहेको छ। आफन्तका खाली घर, गाउँका सुरक्षित बस्ती र उपलब्ध स्रोतसाधन तत्कालका लागि उनीहरूको सहारा बनेका छन्।
तर, घर गुमाएका परिवारको दीर्घकालीन पुनःस्थापना, सुरक्षित बस्तीको पहिचान र विद्युत्, खानेपानी तथा आवागमनजस्ता आधारभूत सेवा पुनःस्थापना नहुँदासम्म उनीहरूको कठिनाइ अन्त्य हुने देखिँदैन।