नारायणगढ (चितवन) । चितवनमा चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि असोज मसान्तसम्म तीन हजार ६२ जनाले वंशजका आधारमा नेपाली नागरिकता प्राप्त गरेका छन्। यस अवधिमा जिल्ला प्रशासन कार्यालय चितवन र इलाका प्रशासन कार्यालय माडीबाट छ हजार ७६६ वटा नागरिकताको प्रतिलिपिसमेत जारी गरिएको छ।
जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी विकास विकका अनुसार जिल्ला प्रशासन कार्यालयबाट दुई हजार ८२४ र इलाका प्रशासन कार्यालय माडीबाट २३८ जनाले वंशजका आधारमा नागरिकता लिएका हुन्।
जिल्ला प्रशासन कार्यालयबाट नागरिकता प्राप्त गर्नेमा एक हजार ४१८ महिला र एक हजार ४०६ पुरुष छन्। त्यस्तै, माडीबाट नागरिकता लिनेमा १२२ महिला र ११६ पुरुष रहेका छन्।
तीन महिनाको अवधिमा जिल्ला प्रशासन कार्यालयबाट १५ महिलाले वैवाहिक अङ्गीकृत नागरिकता र ११ जनाले अङ्गीकृत नागरिकता प्राप्त गरेका छन्। अङ्गीकृत नागरिकता लिनेमा सात महिला र चार पुरुष छन्। यसैगरी, ३१ जनाले गैरआवासीय नेपाली नागरिकता प्राप्त गरेका छन्। गैरआवासीय नेपाली नागरिकता लिनेमा नौ महिला र २२ पुरुष रहेका छन्।
यस अवधिमा जिल्ला प्रशासन कार्यालयबाट छ हजार ११६ वटा नागरिकताको प्रतिलिपि जारी गरिएको छ। प्रतिलिपि लिनेमा दुई हजार ९८७ महिला, तीन हजार १२८ पुरुष र एक अन्य रहेका छन्। त्यस्तै, इलाका प्रशासन कार्यालय माडीबाट ६५० वटा प्रतिलिपि जारी गरिएको छ। तीमध्ये ३२३ महिला र ३२७ पुरुष छन्।
जिल्ला प्रशासन कार्यालयबाट २८ जनाले नागरिकता परित्याग गरेका छन्। नागरिकता परित्याग गर्नेमा १० महिला र १८ पुरुष छन्। यस अवधिमा चार जनाको नागरिकता रद्द गरिएको कार्यालयले जनाएको छ।
राष्ट्रिय परिचयपत्र र राहदानीसम्बन्धी सेवाअन्तर्गत जिल्ला प्रशासन कार्यालयबाट ११ हजार ९९७ जनाको नयाँ विवरण दर्ता गरिएको छ भने चार हजार ३७० वटा राष्ट्रिय परिचयपत्र वितरण गरिएको छ। यसैगरी, राहदानीका लागि पाँच हजार ८५२ जनाको सिफारिस गरिएको र चार हजार २४३ वटा राहदानी वितरण गरिएको सूचना अधिकारी विकले जानकारी दिए।
कार्यालयबाट ३२६ जनाको नाबालक परिचयपत्रका लागि नयाँ विवरण दर्ता गरिएको छ भने ११ वटा प्रतिलिपि जारी भएका छन्। यसबाहेक ३१६ वटा जातीय प्रमाणित, ३१७ वटा भारतीय पेन्सन सिफारिस, १२५ वटा व्यक्ति प्रमाणित र एक हजार ११४ वटा अन्य सिफारिससम्बन्धी काम भएका छन्।
यता, इलाका प्रशासन कार्यालय माडीबाट असोज मसान्तसम्म एक हजार २५५ जनाको राष्ट्रिय परिचयपत्रका लागि नयाँ विवरण दर्ता गरिएको छ भने ७४८ वटा परिचयपत्र वितरण गरिएको छ। सोही अवधिमा १० जनाको नाबालक परिचयपत्रका लागि नयाँ विवरण दर्ता गरिएको र २३ वटा जातीय प्रमाणितसम्बन्धी काम सम्पन्न भएको कार्यालयले जनाएको छ।
माडीबाट यस अवधिमा एक महिलाले वैवाहिक अङ्गीकृत नागरिकता र एक जनाले अङ्गीकृत नागरिकता प्राप्त गरेका छन्।